कञ्चनपुरको कृष्णपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गमा पर्ने कृष्णपुर नगरपालिका-५ आम्खैयामा गए राति से.६ प ३१६७ र सुप.प्र.०१००-७१५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र.०१००-७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ।

प्रतिक्रिया