सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व चयनमा विवाद भएको छ।
शनिबार संस्थाको २१ औँ वार्षिक साधारण सभाको बन्दसत्रमा नेतृत्व चयन गर्ने विषयमा तीव्र विवाद देखिएको हो। संस्थाको अध्यक्षमा झण्डै ५० जनाजति दावेदार खडा भएपछि सहमति जुट्न नसकेको स्रोतले जनाएको छ।
नेतृत्वमा सहमती जुटाउन प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवनका मेयर गणेश प्रसाद प्रसाई र संस्थाका सचिव कमल बुढाथोकी सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको संस्थाका अध्यक्ष बाबुराम घिमिरेले जानकारी दिए।। ‘समितिले मुख्य पदका आकाक्षीबीच माघ २ गतेसम्म सहमती जुटाउन मध्यस्थता गर्ने छ। यदि सहमति नजुटेको खण्डमा निर्वाचन प्रक्रियामा जाने निर्णय भएको छ,’ अध्यक्ष घिमिरेले भने।
१० हजार भन्दा धेरै शेयर सदस्य रहेको सगुन प्रदेश २ मै उत्कृष्ठ सहकारीको रुपमा चिनिन्छ। संस्थाको शेयर पूँजी १२ करोड १५ लाख रुपैयाँ भन्दा बढी छ। घिमिरे स्थापनाकालदेखि नै संस्थाको अध्यक्षमा छन्।
नेतृत्व चयनमा सहमती नजुटे पनि शनिबारको साधारणसभामा संस्थाको आयव्यय, कार्ययोजना सबै पास भएको अध्यक्ष घिमिरले जानकारी दिए। ‘नेतृत्व चयनमा सहमति भएन। अध्यक्षमा सर्वसम्मत भएन भने म अब बस्दिन,’ घिमिरेले भने, ‘यति सर्वसम्मत रुपमा अध्यक्ष चयन हुन सकेन भने निर्वाचन हुन्छ।’
आफूहरुले धेरै मेहनत गरेर संस्थालाई यो ठाउँमा ल्याइपुर्याएको भन्दै घिमिरेले कतिपय व्यक्तिले नेतृत्वमा विवाद झिकेर संस्थालाई धरासायी बनाउन खोजेको आरोप लगाए। ‘नेतृत्व चयनमा विवाद सिर्जना गर्नु संस्थाको हितमा छैन,’ घिमिरेले भने, ‘फेरि पनि विवादरहित ढंगले हामीले संस्थाको नेतृत्व चयन गर्नुपर्छ। यदि सहमतिमा नेतृत्व चयन नभए निर्वाचन प्रक्रियामा जानुको विकल्प छैन।’
प्रदेश सभा सदस्य डिल्ली उप्रेतीको प्रमुख आतिथ्यमा भएको संस्थाको उद्घटन सभामा प्रदेश २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा.सम्झना कुमारी काफ्ले पाण्डे, हरिवन, नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संस्थाले गत वर्ष १ अर्ब २८ करोड ९१ लाख ५० हजार ८०६ रुपैयाँ कारोवार गरी ४ करोड १७ लाख ७६ हजार ४६५ रुपैयाँ खूद मुनाफा गरेको प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए।

प्रतिक्रिया