गाउँ-गाउँमा मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्यासम्मका घटना भएपछि अर्घाखाँची, पाणिनीका युवाहरु सचेतनामूलक कार्यक्रममा जुटेका छन्।
मानसिक स्वास्थ्य समस्याले अर्घाखाँचीका विभिन्न ठाउँमा विद्यार्थीदेखि क्वारेन्टाइनमा बसेका बयस्कसम्मले आत्महत्या गरेको भेटिएका थिए।
मानसिक स्वास्थ्य समस्या भनेको के हो र यसबाट कसरी सर्तक रहने भन्ने जानकारी गराउनबाट यस्ता घटनाहरुलाई रोक्न सकिने भन्दै पाणिनी ७ का गणतान्त्रिक सृजनशील युवाक्लबमा संलग्न युवाहरु चेतनामूलक कार्यक्रम सञ्चालन गरेका हुन्।
गाउँमा चेतना फैलाउने सबैभन्दा राम्रो माध्यम स्कुलका विद्यार्थी र शिक्षकहरु हुने भएकाले पाणिनीका विद्यालयहरुमा ‘मानसिक स्वास्थ्य भर्सेस कोभिड १९’ विषयक चेतनामूलक तालिम संचालन गरेको क्लबका अध्यक्ष सन्दिप पोख्रेलले बताए।

क्लबका युवाहरुले माध्यमिक विद्यालयका विद्यार्थीहरु र त्यहाँ पढाउने शिक्षकहरुलाई सँर्गै राखेर मानसिक स्वास्थ्यका विषयमा प्रशिक्षण दिइएका थिए।
‘कसरी मानसिक समस्या सिर्जित हुन सक्छ, कसरी मान्छे डिप्रेसनमा जान सक्छ र यसले आत्महत्यासम्म कसरी पु¥याउँछ भनेर हामीले जानकारी गराएका छौं,’ पोख्रेलले भने, ‘यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सचेतना फैलाउने प्रयास गरिरहेका छौं।’
मानसिक स्वास्थय समस्या हुदा एकान्त रुचाउने, कसैसँग नमिल्ने, एकोहोरो हुने, रिसाउने जस्ता लक्षण बारम्बार आउने भएकाले त्यसलाई पहिचान गरेर त्यो व्यक्तिलाई थप ‘केयर’ गर्नुपर्ने बारेमा उनीहरुले जानकारी गराएका छन्।
‘मानसिक स्वास्थ समस्या भएका व्यक्तिका कुराहरु अरुले नसुन्दिएपछि आत्महत्याको बाटो रोज्छन् भन्ने अध्ययनले देखाएको छ,’ पोख्रेल भन्छन्, ‘९, १० कक्षामा पढ्ने विद्यार्थी छिटो आवेगमा आउने, घरमा झगडा भएर वा ‘लभ’मा परेको बहानामा त्यस्ता घटना भएका छन्।’
एउटा स्कुलमा विद्यार्थीलाई यो जानकारी गराउँदा उनीहरुका अभिभावकसम्म र त्यसले एउटा सिंगो गाउँमा सकारात्मक प्रभाव पार्न सक्ने आँकलन गरेर यो सचेताना मूलक कार्यक्रम गरिएको हो।
पाणिनी गाउँपालिका ८ वडाका १२ वटा माध्यमिक विद्यालयमा यो कार्यक्रम गरिसकेको छ। कात्तिक २२ देखि सुरु भएको यस सचेतना प्रशिक्षमा विद्यार्थी र शिक्षक गरेर ६ सय जना सहभागी भएको पोख्रेलले बताए।
पब्लिक हेल्थमा स्नातक गरेका क्लबका उपाध्यक्ष अनिल पौडेल, नर्सिङ पढेका अन्य सदस्यहरु सहितका युवाले प्रशिक्षणमा मानसिक स्वास्थ्यको बारेमा जानकारी गराएका थिए।
कोरोना महामारी सुरु भएपछि पाणिनीमा आत्महत्यका थुप्रै घटना भइसकेका छन्। ९ कक्षामा पढ्ने एक छात्रा आमाले मोबाइल नदिएको निहुमा आत्महत्या गरेकी थिइन। त्यस्तै, दुर्गाफाँटमा ५० वर्षको हाराहारीको व्यक्ति पारिवारिक कारणले आत्महत्या गरेका थिए। अर्घाखाँची, जगतलगायतका ठाउँमा क्वारेन्टाइनमा आत्महत्याका गरेका थिए।
त्यस्तै, कोरोना संक्रमण भएको भेटिएपछि मालारानी गाउँपालिकाका एक व्यक्तिले आत्महत्या गरेका थिए। मोबाइलमा पुर्नजन्म सम्बन्धी भिडियो धेरै हेरेपछि पुर्नजन्म हुन्छ भन्ने आशामा आत्महत्या गरेको पनि पाइएको भेटिएको थियो।

यी सबै घटनामा पीडित व्यक्तिलाई परामर्शको कमी भएको यी युवाहरुको बुझाइछ। त्यसैले सामान्य समस्याले पनि जिल्लामा आत्महत्यासम्मका घटना बढेपछि चिन्ता बढेको पोख्रेलको भनाइ छ।
मानसिक स्वास्थ्यसम्बन्धी तामिल, सचेतना जस्ता कार्यक्रमलाई अझ व्यापकता बनाउनु पर्ने उनीहरु बताउँछन्। यी कार्यक्रमलाई विद्यार्थी, शिक्षकमाझ मात्र नभएर गाउँ गाउँमा प्रशिक्षण गर्न आवश्यक रहेको छ।
सीमित स्रोत साधनका कारण यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउन नसकेको पोख्रेलले बताए। ‘हामी युवा क्लाबका केही साथीहरुको सक्रियतामा यतिसम्म गर्न सकेका छौं,’ पोख्रेलले भने, ‘यदि गाउँपालिका, जिल्ला वा अन्य सरोकारवालाले सहयोग गरेका यो कार्यक्रमलाई निरन्तरता दिन र अझ व्यापक बनाउन सकिन्छ।’
सानो स्तरमा भए पनि एक दर्जन विद्यालयमा यो कार्यक्रम गर्दा गाउँमा सकारात्मक प्रभाव परेको छ। स्थानीयले युवाहरुको प्रशंसा गरेका छन्। साथै, मानसिक स्वास्थयका बारेमा धेरै कुरा जान्न पाएको विद्यार्थी तथा शिक्षकहरुले बताएका छन्।

प्रतिक्रिया