जनवरी १६ अर्थात् नेपाली मिति माघ ३ देखि भारतमा कोरोनाविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन हुने भारतीय संचारमाध्यमले जनाएका छन्।
खोप अभियानको मिति घोषणा भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप कार्यक्रम सरु भएको दिन महामारीविरुद्धको अभियानमा कोषेढुंगा हुने बताएका छन्।
उनले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीसहित कोभिड १९ विरुद्धको लडाईमा अग्रपङ्तीमा काम गर्नेहरु पर्ने बताए।
कोरोना महामारीविरुद्ध विश्वको सबैभन्दा ठूलो खोप अभियान सुरु गर्न लागेको भन्दै मोदीले विश्वले यो विषयलाई चासोका साथ हेरिरहेको बताएका छन्।
भारतले स्थानीयस्तरमा कोरोना भाइरसविरुद्ध बनाएको खोप प्रयोगमा ल्याउन लागेको हो।
नेपालसँग सीमा जोडिएको भारत नेपालमा कोरोना संक्रमणको मुख्य स्रोतको रुपमा रहँदै आएको छ। भारतले स्थानीयस्तरमा उत्पादित खोप नेपाललाई आपूर्ति गर्ने विषयमा प्राथमिकतामा राख्ने जनाएको छ।
माघ १ गते भारत भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भ्रमणको प्रमुख एजेण्डामा कोरोनाविरुद्धको खोपको विषय पनि रहेको छ।
नेपालले भारतबाट १ करोड २० लाख डोज खोप ल्याउन खोजेको छ। जसका लागि नेपाली अधिकारीहरुले सिरम इन्स्टिच्युट अफ इन्डिया र भारत बायोटेक र भारत सरकारका अधिकारीहरुसँग छलफल अघि बढाएको छ।

प्रतिक्रिया