समाज


कक्षा ११ का विद्यार्थीको दुर्भाग्य : गत वर्ष एसइई दिन पाएनन्, यस वर्ष पाठ्यपुस्तकमै अन्योल

कक्षा ११ का विद्यार्थीको दुर्भाग्य : गत वर्ष एसइई दिन पाएनन्, यस वर्ष पाठ्यपुस्तकमै अन्योल

किरण पौड्याल
पुस २२, २०७७ बुधबार ४:७,

पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी।

विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को पाठ्यक्रमको आधा पढाई सकिन्थ्यो। तर यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन।

पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन।

भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै रिट दर्ता गरेकी हुन्।

रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि चारपटक पेसी तोकिँदासमेत फैसला हुनसकेको छैन । अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ।

अब पनि तोकिएकै मितिमा फैसला हुनेमा आशंका छ। यसैले विद्यालयहरूले नयाँ वा पुरानो पाठ्यक्रम पढ्ने टुङ्गो छैन। ‘अहिले त विद्यालय गयो/आयो मै बित्दैछ । सामान्य पढाइ हुन्छ तर कोर्ष फेरिएमा के गर्ने भन्ने लाग्छ, पढ्न मन लाग्दैन’, इलाम सदरमुकामको कक्षा–११ मा पढ्ने एक विद्यार्थीले भने, ‘नपढेर पनि सुख छैन । जेठमा परीक्षा हुने कुरा छ । पढौँ कोर्ष निश्चित छैन।’

त्यसो त यसको असर विद्यार्थीलाई मात्र नभई अभिभावक र शिक्षकलाई पनि उस्तै परेको छ । एकातिर कोरोना महामारीले कतिपय विद्यार्थी भर्ना हुनसकेका छैनन् भने भर्ना भएका विद्यार्थीका लागि पनि पढ्ने वातावरण छैन।

पाठ्यक्रम निर्माणको प्रारम्भिक चरणदेखि नै गणितलाई अनिवार्य विषयका रूपमा समेटिनुपर्ने माग थियो । अदालतमा विचाराधीन मुद्दामा पनि यो माग गरिएको छ । अन्योलको विषय भएकाले पढाउन अत्यन्तै असहज भएको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराईले बताए।

‘नयाँ र पुरानो दुवै पाठ्यक्रम पढाउँन यतिबेला अन्योल छ। अनुमानका भरमा दुवै पाठ्यक्रम पढाउँदै आएका छौँ,’ उनले भने, ‘नयाँ र पुरानो कोर्षको पूर्णाङ्क पनि मिल्दैन । पहिलेको ५०० को थियो नयाँमा ६०० को छ । कसरी मिलाएर पढाउने दोधारमा छौँ।’ नयाँ पाठ्यक्रममा कक्षा ११ र १२ मा सङ्काय प्रणाली अन्त्य गरेर अनिवार्य र ऐच्छिक विषय राखिएको छ।

केही नयाँ काम त नयाँ पाठ्यक्रमले गरेको छ तर विद्यार्थी भने अन्योलमा परेका छन् । कक्षा ११ मा भर्ना आएका विद्यार्थी तिनै विद्यार्थी हुन्, जुन विद्यार्थी गएको वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) लेख्ने तयारी गर्दैगर्दा कोरोनाका कारण बन्दाबन्दी भएपछि आन्तरिक प्रक्रियाबाट नतिजा सार्वजनिक गरिएको थियो।

परीक्षाको मितिभन्दा केही समयअघि मात्रै यस्तो निर्णय आएपछि विद्यार्थी हतोत्साहित हुँदै घर फर्किएका थिए । एसइईको नतिजा आन्तरिक प्रणालीबाट भएपछि समेत विद्यार्थी आलोचित हुनुपरेको थियो । सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा पनि ‘कोरोना ब्याच’, ‘सित्तैमा दिएको अङ्क’ भन्दै गालीगलौज गरिएको थियो।

तिनै विद्यार्थी अहिले कक्षा ११ मा पुग्दा अर्को समस्या आएको छ । सामान्यतया कक्षा ११ को अन्तिम परीक्षा वैशाख अन्तिमबाट शुरु हुने गर्छ । यसरी हेर्दा चार महिना मात्र बाँकी छ। तर यतिबेलासम्म विद्यार्थी सर्वोच्चको आदेश पर्खिएर बस्नुपरेको छ।

सामान्यतया हरेक पाठ्यक्रम १०/१० वर्षमा परिमार्जन हुनुपर्ने प्रावधान छ । अहिले पाठ्यक्रम परिमार्जन हुने समय पनि हो। तर शैक्षिक सत्रको बीचमा अन्योल देखिँदा विद्यार्थी समस्यामा परेका छन्।

नयाँ पाठ्यवस्तु बजारमा आइसकेको छ । कतिपय विद्यार्थीले किन्न थालेका पनि छन् तर पाठ्यक्रम नै अन्योलमा रहेकाले किन्न आउने विद्यार्थीलाई समेत बेच्न नसकेको जिल्ला पुस्तकालय सङ्घका अध्यक्ष एवं तेह्रथम पुस्तक पसल इलामका सञ्चालक टङ्क धमलाले बताए।

‘धेरै विद्यार्थी त के गर्ने भन्दै सल्लाह माग्छन्, जानकारी दिएपछि कतिले किन्छन्, कतिले नकिनी फर्कन्छन्’, धमलाले भने।

नयाँ पाठ्यक्रम लागू भएको खण्डमा भने पाठ्यपुस्तक पाउन सहज छ। तर सर्वोच्चले पुरानो पाठ्यक्रम लागू गर्न भन्दै फैसला गरेमा भने पुनः समस्या आउने अध्यक्ष धमलाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad