समाज


निर्मला प्रकरणको अनुसन्धानमा खटिएका सिआइबीका एसपी चतुरर्वेदी नै भए कञ्चनपुर प्रहरीको कमान्डर

निर्मला प्रकरणको अनुसन्धानमा खटिएका सिआइबीका एसपी चतुरर्वेदी नै भए कञ्चनपुर प्रहरीको कमान्डर

गोकुल जोशी
पुस २२, २०७७ बुधबार ३:२८,

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी प्रमुखको जिम्मेवारी एसपी उमाप्रसाद चतुर्वेदीले पाएका छन्। एसपी मुकुन्द मरासिनीको सरुवा भएपछि चतुर्वेदी कञ्चनपुर सरुवा भएका हुन्।

उनी यस अघि प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुन्धान ब्यूरो (सिआइबी) महाशाखा महाराजगञ्ज काठमाडौँमा थिए । एसपी चतुर्वेदी प्रहरीभित्र व्यवसायिक र क्षमतावान प्रहरी अधिकृतका रुपमा चिनिन्छन्।

उनले सिरहामा रहँदा उत्कृष्ट प्रहरीको पुरस्कार पाएका थिए । पाँचथरमा भएको ९ जनाको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि सीआईबी टोलीको नेतृत्व समेत उनले गरेका थिए । उनी कञ्चनपुरको चर्चित निर्मला हत्या प्रकरणमा समेत खटिएका अनुसन्धान अधिकृत हुन्।

वि.सं. २०७५ साउन ११ गते भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । घटना घटेको साढे दुई वर्ष पुग्नै लाग्दा पनि अपराधीको पहिचान हुन सकेको छैन्।

सोही हत्या प्रकरणको अनुसन्धानमा संलग्न सिआइबीका एसपी चतुर्वेदीले कञ्चनपुर प्रहरीको जिम्मेवारी पाएका हुन्। मंगलवार प्रहरी महानिरीक्षकको निर्णय अनुसार ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको थियो।

कञ्चनपुरका एसपी मरासिनीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ सरुवा भएको छ। चर्चित निर्मला हत्या तथा बलात्कार प्रकरणमा सफलता प्राप्त गर्न नसके पनि एसपी मरासिनीले अन्य जघन्य अपराधको सफल अनुसन्धान गरेर अपराधीलाई कानूनको दायरामा ल्याएका छन्।

एक वर्षको अवधिमा घटेका छ वटा जघन्य अपराधका घटनामा संलग्न अभियुक्तलाई ७२ घण्टा देखि बढिमा १४ दिन भित्रमा कानूनी दायरामा ल्याउन सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र बनिरहेको बेला गड्डाचौकीबाट आउने हजारौँ नेपालीहरुलाई व्यवस्थापन गरी कोरोना नियन्त्रणमा पनि एसपी मरासिनी नेतृत्वको प्रहरीको भूमिका रह्यो। उनले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण र फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएका थिए।

कृषि विकास बैंकको सिस्टम ह्याकिङ गरेर विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी फरार भारतीय व्यापारी सुशील गर्ग लगायत विभिन्न मुद्दामा फरार अभियुक्तहरु पक्राउ गर्न प्रहरी सफल भएको थियो। अवैध चोरी, तस्करी र निकासी–पैठारी नियन्त्रणमा समेत मरासिनी नेतृत्वको प्रहरी संक्रिय देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad