कञ्चनपुरको महाकाली नगरपालिका-१ का १६ वर्षीय नरेश सुनार सोमबार साँझ भारतीय बजार गडीगोठबाट सामान किनेर घर फर्किंदै थिए। नेपाल-भारत सीमा क्षेत्रमा आइपुग्दा अचानक उनीविरुद्ध गोली चल्यो।
साथमा साथी बब्लु चन्द पनि थिए। घटना साँझ साढे ६ बजेतिरको हो।
‘म पछाडि थिएँ, बब्लु अगाडि हिँड्दै थिए,’ छर्रा लागेर घाइते भएका सुनारले नेपालखबरसँग भने, ‘मेरो पछाडिबाट एक्कासि एक जनाले डन्डाले हान्यो अनि म लडें। उठेर भाग्न खोज्दा फेरि पटका पड्केको जस्तो आवाज सुनें, मेरो खुट्टामा छर्रा लागेको रहेछ। अनि भागेर अंकलकोमा पुगें।’
उनका अनुसार गोली हान्ने व्यक्ति १०/१२ जनाको समूहमा थिए। तर गोली कसले चलायो, थाहा भएन।
भारतीय क्षेत्रमा पर्ने गडीगोठ नेपाली खाद्यान्यलगायत घरायसी सामान खरिदका लागि जाने स्थान हाे। जुन सुनारको गाउँबाट आधा किलोमिटर मात्रै पर छ।
‘घरका लागि दाल, चिनी, चामल, प्याज, टमाटर लिएर आउदै थिएँ। बाटोमा सगुनको रूख काटेर बीचमा गाडी अड्किएको थियो,’ घाइते सुनार सुनाउँछन्, ‘खैरो कलरको ज्याकेट लगाएका थिए। मैले चिन्न सकिनँ।’
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापा गोली कसले र किन चलाएको भन्नेबारे अनुसन्धान भइरहेको बताउँछन्।
‘जंगलमा गोली कसले चलायो चलायो भन्नेबारे खुल्न सकेको छैन। काठ तस्करी हुने भएकाले त्यसलाई रोक्न भारतीय वनरक्षकले गोली चलाएको पनि हुन सक्छ,’ डीएसपी थापाले नेपालखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ।’
प्रहरीले नरेश काठ तस्करीका लागि भारतीय जंगल गएको हुन सक्ने आशंका पनि गरेको छ।
‘सो क्षेत्रमा हिजो एसएसबी (भारतीय सीमा सुरक्षा बल) को गस्ती नरहेको खुलेको छ। घाइतेले सामान लिएर घर फर्किंदा गोली चलेको भनिरहेका छन्,’ इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक लालबहादुर बमले नेपालखबरसँग भने, ‘उनीसँगै रहेका बब्लु चन्द घरमा आएका छैनन्, अनुसन्धानका लागि हामी फेरि सो क्षेत्रमा जाँदै छौं।’
घाइते सुनारको अहिले महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको छ।
कञ्चनपुरका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक अगुवा तथा स्थानीयले भने सामाजिक सञ्जालमा नेपाली नागरिकलाई गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरिरहेका छन्।
कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले घटनाको सत्यतथ्य पत्ता लगाउन तथा दोषीलाई कारबाही माग गरेका छन्।
यस्तै भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले पनि घटनाको विरोध गरेका छन्। उनले घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन्।
घाइतेकाे बयान

प्रतिक्रिया