इलाम जिल्लाको माङसेबुङ गाउँपालिका २ र ८ को सिमाना स्थित लारुवा भन्ने स्थानबाट सशस्त्र प्रहरी टोलीले करीव एक लाख २० हजार रुपैयाँ बराबरको सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही जिल्लाको ईलाममाई नगरपालिका ६ बस्ने १९ वर्षीय विकास लिम्बु र झापा जिल्लाको दमक नगरपालिका ३ बस्ने १८ वर्षीय सुवास शेर्पा छन्।
प्र १०१–००१ त ८३४५ नम्बरको ट्याक्टरमा लोड गर्दै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश दानावारीबाट खटिएको एपीएफ टोलीले उक्त काठसहित पक्राउ गरेको हो।
एपीएफ टोलीले त्यसबेला उक्त ट्याक्टर समेत बरामद गरेको छ। पक्राउ परेकाहरुलाई बरामद काठ तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सुखानीमा बुझाईएको छ।
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
यता, सर्लाही जिल्लाको कविलासी नगरपालिका ७ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब दुई लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल सेट र लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अवैध रुपले स्कुटरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश फरदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। त्यसबेला सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त स्कुटर र सामान छाडी फरार भएका थिए।

प्रतिक्रिया