नेपालले अन्तरिक्षमा पठाएको नानो भूउपग्रहले खिचेको तस्वीरहरु शनिबार पहिलो पटक सार्वजनिक गरिएको छ। नेपाली स्याट वान नाम गरेको भूउपग्रहले खिचेको चार तस्वीर सार्वजनिक भएका छन्।
बर्ड्स थ्री स्याटलाइट प्रोजेक्टले सार्वजनिक गरेका तस्वीरमध्ये दुई मा श्रीलंकाली भूभाग देखिन्छ। एउटा चीनमाथि बादल लागेको भूभागको छ भने र अर्को सूर्य रहेको छ।
'यी तस्वीरहरु क्युटेक (क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी) र श्रीलंका रहेको ग्राउन्ड स्टेसनको प्रयोग गरेर खचिएको हो', बर्ड्स थ्री परियोजनाका प्रमुख आभास मास्केले नेपालखबरसँग भने, 'सबैभन्दा पहिले हामीले पठाएको स्याटलाइटमा रहेका क्यामेराले काम गर्छ कि गर्दैन भनेर जाँच गर्नका लागि सूर्यको तस्वीर खिचेका थियौं।'
पहिलो नेपाली नानो भूउपग्रह नेपाली स्याट वान। फाइल तस्बिर
नेपालमा ग्राउन्ड स्टेसन बनेपछि नेपालको भूभागको तस्वीर खिच्ने उनले बताए।
'यी तस्वीरहरु केही समयअघि लिएका हौं। जापानका विभिन्न निकायको अनुमति दिएपछि शनिबार सार्वजनिक गरिएको हो' उनले भने, 'नेपालमा ग्राउन्ड स्टेसन बनेपछि यतैबाट अपलिंक गरेर फोटो खिच्ने र डाउन लिंक गर्ने योजना छ। त्यो पनि सार्वजनिक गर्ने छौं।'
नेपाली नानो भूउपग्रहका सबै परीक्षणहरु पूरा गरी अहिले तस्वीर खिच्ने काम भइरहेको हो। सो भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ। शनिबार सार्वजनिक तस्विरहरू त्यही पाँच मेगा पिक्सलको क्यामेराले खिचेका हुन्।

मास्के जापानको क्युटेकमा स्पेश टेक्नोलोजीको विषयमा विद्यावारिधी गर्दैछन्। यो प्रोजेक्टमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का तर्फबाट प्राविधिक हरिराम श्रेष्ठ सहभागी रहेका छन्।
जापानले आफ्नो अन्तरिक्ष कार्यक्रम नभएका नेपालजस्ता देशका लक्षित गर्दै बर्ड्स कार्यक्रम सञ्चालन गर्दै आएको छ।
जापानको सञ्चार मन्त्रालयले बिहीबार मात्रै तस्वीर सार्वजनिक गर्न अनुमति दिएको थियो। 'ग्राउन्ड स्टेसन र स्याटलाइटबीचको सम्पर्क पूर्ण रुपमा ठिक छ कि छैन भनेर हेरेपछि बिहीबार पूर्ण लाइसेन्स पायौं र अहिलेसम्म अस्थायी लाइसेन्सबाट काम चलाउँदै आएका थियौ', मास्केले भने। क्युटेकबाट नेपालसँगै श्रीलंकाले रावण वान र जापानले युगुइसी नामको नानो स्याटलाइट अन्तरिक्ष पठाइएको छ।

बैशाख ५ गते बिहान अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट तीन वटा नानो भूउपग्रह प्रक्षेपण गरिकएको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा कार्गो रुपमा पुगेको भूउपग्रहलाई असार २ मा पृथ्वीभन्दा चार सय किलोमिटरमाथि पृथ्वीको कक्षमा छाडिएको थियो। नेपाली स्याट वान १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउँछ। यो १ किलो ३३० ग्रामको छ।
प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर चलाउने यो नानो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्दै आएको छ। त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्छ। मास्केले जापानी समयअनुसार राति ९ बजे जापानी आकाशमा आइपुग्ने बताए। प्रत्येक पटक आकाशमा आइपुग्दा ग्राउन्ड स्टेसन र स्याटलाइटबीच दस मिनेट मात्रै सम्पर्क हुनेगर्छ।
जापानमा निर्माण गरिएको स्याटलाइट पठाउन नेपाल सरकारले रकम उपलब्ध गराएको थियो।

प्रतिक्रिया