ad ad

समाज


धौलागिरी गाउँपालिकामै पहिलोपटक पुगे डाक्टर

धौलागिरी गाउँपालिकामै पहिलोपटक पुगे डाक्टर

नेपालखबर
पुस १३, २०७७ सोमबार ४:२१,

म्याग्दीको धौलागिरी गाउँपालिकामा नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन्।

भौगोलिक रुपमा बिकट धौलागिरी गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो। पुस ८ गतेदेखि लागू हुने गरी डा.एकराज भण्डारीलाई नियुक्त गरिएको वडाध्यक्ष कलानिधि सुवेदीले जानकारी दिए।

‘कोभिड अस्पताल सञ्चालन गर्नका लागि डाक्टरसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ’, उनले भने, ‘छिट्टै कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ । अहिलेकै जनशक्तिलाई निरन्तरता दिएर नियमित अस्पताल सञ्चालन गर्ने योजना छ।’

अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई वडाका जनप्रतिनिधि र ताकमका बासिन्दाले स्वागत गरेका छन्। पहिलोपटक गाउँपालिकामा डाक्टर आएकामा स्थानीयवासी खुशी भएका छन्।

ताकम स्वास्थ्यचौकीको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए। कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँ गाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ।

यही मङ्गलबार सम्पन्न विशेष गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो। ‘अहिले तीन महिनालाई डाक्टर र नर्स नियुक्त गरेका हौँ’, अध्यक्ष पुनले भने, ‘कोरोना अस्पताल स्थापना भएको ताकममै गाउँपालिकाले नियमित अस्पताल सञ्चालन गर्ने तयारी छ।’

अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७० लाख पठाएको छ । भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर ठेक्का आह्वानको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए।

कोरोना अस्पताल सञ्चालन गर्न यसअघि म्याग्दीका अन्नपूर्ण र मालिका गाउँपालिकाले डाक्टर नियुक्त गरेका छन् । मङ्गला र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि डाक्टर पाएका छैनन्। कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई १० लाख बजेट पठाएको छ।

आवश्यक मेडिकल बेड, विस्तारा, अक्सिजनलगायतका औजार र औषधिको समेत व्यवस्था गरिएको छ। चार लाख ५० हजार तलब, ५० हजार औषधि र पाँच लाखको बेडसहितका सामग्री किन्न शीर्षक तोकेर बजेट पठाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .