ad ad

समाज


कुमार पौडेल ‘इन्काउन्टर’मा नयाँ ट्विस्टः पैतालामा कसरी लाग्यो गोली?

कुमार पौडेल ‘इन्काउन्टर’मा नयाँ ट्विस्टः पैतालामा कसरी लाग्यो गोली?

दीपक खरेल
साउन १७, २०७६ शुक्रबार ६:५८,

राष्ट्रिय रुपमा चर्चा पाएको कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणमा नयाँ ट्विस्ट देखिएको छ। घटनाको विस्तृत अनुसन्धान गरिरहेको संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगले उनलाई पैतालामा गोली लागेको तथ्य संकलन गरेको हो।

सरकारी पक्षले मुठभेडमा मारिएको दाबी गरिरहँदा यो नयाँ तथ्यले उनी नियन्त्रणमा लिएर मारिएको हुनसक्ने विषयलाई बल प्रदान गरेको छ।

पोष्टमार्टम रिपोर्टअनुसार कुमारको शरीरमा ६ राउण्ड गोली प्रहार भएका छन्। जसमध्ये एउटा गोली पैतालाको पछिल्लो भाग कुर्कुच्चा मुनीबाट हानिएको छ। त्यो गोली उनको पिँडौलाबाट निस्किएको रिपोर्टले देखाउँछ।

मुठभेड गरिरहँदा पैतालामा कसरी गोली लाग्न सक्छ? आयोगले संकलन गरेको तथ्यले सुरक्षाकर्मीमाथि यो नयाँ र गम्भीर प्रश्न तेर्साइदिएको हो।

घटनाको अनुसन्धान गरिरहेका आयोग सदस्य गोविन्द शर्मा पौडेलले कुर्कुच्चामा गोली हानिएको विवरण आयोगले प्राप्त गरेको नेपालखबरसँग बताए। उनकाअनुसार घटनामा संलग्न प्रहरी टोलीका ११ जनाको बयान लिने काम बिहीबारसम्म आयोगले पूरा गरेको छ। बयान लिएका प्रहरीहरु लासको मुचुल्का उठाउने बाहेकका हुन्।

प्रहरी प्रधान कार्यालयले खटाएका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहको टोलीले पौडेललाई ‘इन्काउन्टर’ गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरिरहेको हो। विशेष ब्युरोमा काज रहेका सइ साह प्रहरी निरीक्षकमा बढुवा भएसँगै प्रहरी प्रधान कार्यालयले ब्युरोमै दरबन्दी कायम गरी तराइ परिचालन गरेको थियो। विशेष ब्युरो प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मातहतको युनिट हो। साह खनालका विश्वास पात्र मानिन्छन्। उनकै टोलीले पौडेललाई ‘इन्काउन्टर’ गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरिरहेको हो।

आयोगले प्रहरी निरीक्षक साहसँग बुधबार बयान लिएकाे हाे। यस्तै उनकाे समुहमा रहेका प्रहरी अधिकारीसँग बुधबार र बिहीबार बयान लिएकाे आयोगले जनाएकाे छ। 

आयोगमा बयान दिने प्रहरी अधिकारीले कुमार मुठभेडमै मारिएको दाबी गरेका छन्। तर त्यसलाई पुष्टि गर्ने आधार दिन सकेका छैनन्।

घटनास्थल गएर अनुसन्धान गरेको आयोग टोलीले सबै सबुत प्रमाण अध्ययन पछि प्रतिवेदन तयार पार्नेछ।

‘एक–एक जनाको बयान लिनुपर्ने हुन्छ,’ आयोग सदस्य पौडेल भन्छन्, ‘घटनाको बिस्तृत अनुसन्धानमा जे देखिन्छ त्यही प्रतिवेदनमा उल्लेख हुन्छ।’

२०७६ असार ५ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका इन्चार्ज कुमार पौडेलको स्थानीय लखन्ती खोलामा सुरक्षाकर्मीले चलाएको गोलीबाट मृत्यु भएको थियो। सरकारले उनी सुरक्षाकर्मीसँगको मुठभेडमा मारिएको दाबी गर्दै आएको छ। उनीसँगै रहेका अन्य भागेको र कुमारले फायर खोलेपछि जवाफी कारबाहीमा मारिएको सरकारको दाबी छ।

घटना प्रकृति छानबिन गरेका स्वतन्त्र निकायहरुले सो प्रकरण ‘इन्काउन्टर’ नभई ‘फेक इन्काउन्टर’ भएको बताउँदै आएका छन्।

मुठभेडका क्रममा भागेको भनेर प्रहरीले दाबी गरेका विजय लामा र हरि उप्रेतीको आयोगले सोधखोज गरिरहेको छ। उनीहरु मध्ये एकजना आयोग अनुसन्धान अधिकारी सम्पर्कमा रहेको स्रोतले नेपालखबरलाई बतायो।

आयोगको प्रारम्भिक अनुसन्धानले कुमारलाई बन्धक बनाएर त्यसको केही घण्टापछि गोली हानी हत्या गरिएको देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .