ad ad

कारोबार


विश्व अर्थतन्त्रमा भारत सातौँ स्थानमा, पूरा भएन पाँचौँ बन्ने लक्ष्य

विश्व अर्थतन्त्रमा भारत सातौँ स्थानमा, पूरा भएन पाँचौँ बन्ने लक्ष्य

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ६:५१,

आफूलाई विश्वको पाँचौँ ठूलो र एसियामा तेस्रो ठूलो अर्थतन्त्र देशका रुपमा दाबी गर्दै आएको भारतको अर्थतन्त्र खस्किएको छ। सन् २०१७ मा विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारत सन् २०१८ मा दुई स्थान तल झरेको हो। भारतलाई बेलायत र फ्रान्सले पछि धकेलिदिएका हुन्।

विश्व बैंकको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो। पछिल्लो तथ्यांकअनुसार सातौँ स्थानमा झरेको भारतको कुल गार्हस्थ्य उत्पादन मूल्य २.७ ट्रिलियन अमेरिकी डलर रहेको छ। यो भनेको २७ खर्ब अमेरिकी डलर हो। पछिल्लो तथ्यांकअनुसार अमेरिका (२०.५ ट्रिलियन) पहिलो स्थानमा रहँदा चीन (१३.६ ट्रिलियन) दोस्रो, जापान (५ ट्रिलियन) तेस्रो, जर्मनी (४ ट्रिलियन) चौँथो, बेलायत (२.८ ट्रिलियन) पाँचौँ, फ्रान्स (२.८ ट्रिलियन) छैठौँ, भारत (२.७ ट्रिलियन) सातौँ, इटली (२.१ ट्रिलियन) आठौँ, ब्राजिल (१.९ ट्रिलियन) नवौँ र क्यानडा (१.७ ट्रिलियन) दशौँ स्थानमा छन्।

त्यस्तै ११औँ ठूलो अर्थतन्त्र रुसको कुल गार्हस्थ्य उत्पादन १.७ ट्रिलियन अमेरिकी डलरको रहेको छ। त्यसपछि क्रमशः दक्षिण कोरिया, अस्ट्रेलिया र स्पेन १२औँ, १३औँ र १४औँ स्थानमा रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।

सन् २०१७ मा भारतको अर्थतन्त्र २६ खर्ब ५० अर्ब डलरको हुँदा ऊ विश्वको पाँचौँ ठूलो अर्थतन्त्र थियो। भारतको अर्थतन्त्र खस्किनुलाई अर्थविदहरुले वृद्धिदरमा आएको सुस्तता र मुद्रामा आएको मूल्य विचलनलाई कारण मानेका छन् । यद्यपि वृद्धिदर बलियो स्थितिमा रहने हो भने उक्त स्थान परिवर्तन हुनसक्ने इन्डिया रेटिङ एण्ड रिसर्चका प्रमुख अर्थविद् देवेन्द्र पन्तको भनाइ छ। भारत अहिले पनि तीव्र वृद्धिदर हासिल गर्ने देशमै पर्छ। चालू आर्थिक वर्षमा भारतले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ।

अमेरिकासँगको व्यापारिक तनावले चीनको अर्थतन्त्र अझै सुस्त हुने अनुमान गरिएको छ। आईएचएस मार्किट, रिसर्च फर्मले गत महिना चालू आर्थिक वर्षमा भारतले बेलायतलाई उछिन्दै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने अनुमान प्रक्षेपण गरेको थियो। त्यस्तै सन् २०२५ सम्ममा जापानलाई उछिन्दै तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएको थियो।

भारतले २०२४/०२५ सम्ममा ५ खर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने गरी योजना भर्खरै मात्र सार्वजनिक गरेको छ। तर यसका लागि ८ प्रतिशतको वृद्धिदर आवश्यक हुने यो वर्षको भारतीय आर्थिक सर्वेक्षणमा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .