दाङमा टिकटक बनाउने क्रममा झोलुंगेपुलबाट खसेर एक युवकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको टिकटक बनाउने क्रममा बबई नदीको झोलुंगेपुलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहका अनुसार आइतबार पिकनिक गएको बेला थापा टिकटक बनाउन भन्दै बबई गाउँपालिका ५ स्थित पुरन्धारा झरना नजिकैको झोलुंगेपुलको सपोर्ट तारमा झुण्डिएका थिए। हात गलेपछि उनी झण्डै २० मिटर माथिबाट खोलाको बगरमा बजारिएका थिए।
गम्भीर घाइते भएका थापाको उपचारका क्रममा सोमबार बिहान बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।
मदिरा सेवन गरेका थापा लामो समयसम्म तारमा झुन्डिँदा हात गलेर उनी पुलबाट बगरमा बजारिएका सँगै पिकनिक गएका उनका साथीहरुले बताएका छन्। तारमा झुण्डिएर भिडियो नखिच्न साथीहरुले गरेको आग्रह उनले अस्वीकार गरेका थिए।
गम्भीर घाइते थापालाई सुरुमा उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि आइतबार साँझ उनलाई कोहलपुर पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया