सौर्य मण्डलका सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति आपसमा नजिक हुँदैछन्। यसलाई खगोलविद्हरुले दुर्लभ घटना भनेका छन्।
बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया नै हो। तर धेरै वर्षपछि नजिक देखिनु खगोलशास्त्री र अन्तरिक्षविद्का लागि विशेष महत्वको विषय भएको उनले बताए।
खगोलविद्हरुका अनुसार वृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया हरेक २० वर्षको अन्तरालमा हुन्छ। तर, रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था आठ सय वर्षपछि मात्र आउन लागेको हो।
वृहस्पति र शनी ग्रह आपसमा नजिक देखिने दुर्लभ दृश्य नेपालका सबै ठाउँबाट खाली आँखाले अवलोकन गर्न सकिन्छ। शनि र वृहस्पति बिहान ९ बजेअघि उदाउने र साँझ साढे ७ बजे अस्ताउने छन्।
आज साँझ वृहस्पति र शनिभन्दा माथि अर्धचन्द्रमा पनि देखिने छ। यो दुर्लभ दृश्य साँझ पौने ६ बजेदेखि ७ बजेभित्र अवलोकन गर्न सकिने खगोलविद्ले बताएका छन्।

प्रतिक्रिया