टर्कीस्थित एक कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर विस्फोट हुँदा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
त्यहाँको गाजियान्टेप सहरमा रहेको सान्को युनिभर्सिटी अस्पतालमा अक्सिजन भेन्टिलेटर विस्फोट भई आलगलागी भएको हो।
तर मृतकको शरीरमा आगोले पोलेका कुनै चोट नदेखिएकाले भेन्टिलेटर विस्फोटका कारण अक्सिजनको मात्रा कम भएकाले मृत्यु भएको आशंका गरिएको छ।
शनिबार बिहानीपख भएको विस्फोटमा ८ जनाको घटनास्थलमै र एक संक्रमितको उपचारका लागि अर्को अस्पताल लाने क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
मृतक ५६ देखि ८५ वर्षसम्मका छन्। घटनापछि अस्पतालका सबै बिरामीलाई अन्य अस्पतालमा सारिएको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालीनले बिरामीको उपचार सक्दो छिटो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
टर्कीमा अहिलेसम्म २० लाख मानिसलाई कोरोना संक्रमण भइसकेको छ भने १७ हजार ६ सय संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया