महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट विभिन्न नम्बरका मोटरसाइकलसमेत बरामद भएको छ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढि गाउँपालिका–६ क्यानखोला घर भई हाल काठमाडौ कपन बस्ने वर्ष २१ को प्रकाश तामाङ, सिन्धुलीकै तिनपाटन गाउँपालिका–५ भिमस्थान घर भई हाल कपन बस्ने वर्ष ३२ को अम्मर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ घर भई हाल कपनमै बस्ने वर्ष २० को सुरेश तामाङ रहेका छन्।
यस्तै, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने वर्ष ३३ को भोला थापा पनि चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन्। उनीरुलाई थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त थानकोट पठाएको छ।
गत वर्ष माघ १० गते नैकापबाट बा ९४ प ४४६९ नम्बरको मोटरसाइकल हराएको भनि चन्द्रागिरी नगरपालिका–१३ का पूर्ण राउतले महानगरीय ट्राफिक महशाखामा निवेदन दिएकोमा महाशाखाबाट सादा पोशाकको प्रहरीले नयाँबसपार्क सडक खण्डमा चेक जाँच गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरि चलाएको पल्सर १५० सीसीको बा ८९ प १७७६ नम्बरको मोटरसाइकल बरामद गरी कपन बस्ने उपरोक्त तीन जनालाई पक्राउ गरेको थियो।
सो मोटरसाइकलको वास्तविक नम्बर बा ९४ प ४४६९ रहेको ट्राफिक प्रहरीले जनाएको छ।
त्यस्तै २०७६ जेठ २७ गते बा ९६ प ५४९४ नम्वरको मोटरसाइकल बालुवाटारबाट हराएको भनि बालुवाटार बस्ने दिपक खड्काले खोज तलासको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा सूचना दिएकोमा सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले भद्रकालि स्थित सडक खण्डमा शंका लागि चेकजाँचको गर्ने क्रममा बा ९० प ७३८६ नम्वरको कालो रातो रंगको यामाहा एसजेडआर मोटरसाइकल फेला पारेको थियो।
सो मोटरसाइकलको वास्तविक नम्बर बा ९६ प ५४९४ भनि खुल्न आएको र उक्त मोटरसाइकलको साथमा बालुवाटार बस्ने भोला थापालाई पक्राउ गरिएको हो ।
ट्राफिक प्रहरीले एकान्त ठाउँमा बाइक पार्किङ नगर्न, एकैछिन हो भनि ढुक्क नबस्न तथा राम्रोसँग चाबी, ह्वील लक लगाउन आग्रह गरेको छ।
Shares

प्रतिक्रिया