नेपालमा पश्चिमी वायुको प्रभावका साथै दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त वायु प्रवेश गर्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जनाएअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : पहाडी भेगका केही स्थानमा हल्का वर्षासँगै हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आई चिसो बढ्नाका साथै तराईका अधिकांश भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।
आगामी तीन दिन मौसम यस्तो रहने अनुमान छ :
मंसिर२७गते(शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का/वर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ।
राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
मंसिर२८गते(आइतबार)
दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ।
मंसिर२९गते(सोमबार)
दिउँसो : देशको पहाडि भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको पहाडि भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया