छापा खबर


नेपालमा कोरोना : विज्ञ भन्छन्- जाडोमा मृत्युदर बढ्न सक्छ

नेपालमा कोरोना : विज्ञ भन्छन्- जाडोमा मृत्युदर बढ्न सक्छ

नेपालखबर
मंसिर २७, २०७७ शनिबार ३:१०,

विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन।

नेपालमा दैनिक औसत पाँच हजारजना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या २२ देखि ३२ सम्म थियो। हाल दैनिक एक हजारदेखि १२ सयको दरले संक्रमित थपिएका छन्, मृत्यु हुनेको संख्या १५ देखि २० हाराहारी छ। यो खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

कोरोना संक्रमण घटेकै बेला संक्रमितको मृत्यु घट्नुको सट्टा बढ्ने सम्भावना रहेको चिकित्सकले औंल्याएका छन्। शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा.शेरबहादुर पुनको अनुभवमा वृद्धवृद्धा होम आइसोलेसनमा छन्, उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी दिन नसकेर उपचारमा ढिलाइ हुँदा मृत्युदर बढेको छ। यो दर जाडोमा अझै बढ्ने स्थिति छ।

‘होम आइसोलेसनमा रहेका ८० प्रतिशतभन्दा बढी आमाबुवाले मोबाइल चलाउँदैनन्’, पुनले भने। मोबाइल नचलाउँदा उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे परिवारका सदस्यलाई समयमै खबर दिन सकेका छैनन्। राजधानीमा मानिस व्यस्त रहने र केही हुँदैन भनेर बस्ने क्रममै उपचारका लागि ढिलो भइसक्ने डा.पुनले बताए।

संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नुपर्छ र व्यवसायमा घाटा पर्छ भन्ने सोचले पनि परीक्षण नगराउनु, कन्ट्याक्ट ट्रेसिङ नहुनु, जाडो महिनामा कोरोना भाइरस धेरै दिनसम्म जीवित रहनु, अन्य फ्लुको संक्रमण पनि बढ्नुजस्ता कारणले गर्मीको तुलनामा जाडोमा कोरोनाबाट बढी मृत्यु हुने सम्भावना रहेको चिकित्सकले औंल्याएका छन्।

वीर अस्पतालका छातीरोग विशेषज्ञ डा.अशेष ढुंगानाका अनुसार पहिलो लहरको कोरोना संक्रमण सकिएर जाडोमा दोस्रो लहर आउने स्थिति रहेको र त्यसको असर गम्भीर हुन सक्ने सम्भावना छ। ‘नयाँ रोग भएकाले दोस्रो लहरको प्रभाव अहिलेको भन्दा कडा हुन सक्छ’, उनले भने। युरोप तथा अन्य पश्चिमी देशहरूमा दोस्रो लहरको कोरोना संक्रमण भइसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad