ad ad

समाज


काठमाडौंका मुख्य सडक क्षेत्रमा दुई हजार आधुनिक बत्ती जडान गरिने

काठमाडौंका मुख्य सडक क्षेत्रमा दुई हजार आधुनिक बत्ती जडान गरिने

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ३:१,

काठमाडौँ महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ। यसका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कामपा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो। कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका तर्फबाट महानिर्देशक केशवकुमार शर्माले सहमती पत्रमा हस्ताक्षर गरेका छन्।

सहमति अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्कीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा दुई हजार आधुनिक बत्ती जडान कार्य अघि बढाइने छ।

हस्ताक्षर कार्यक्रममा मन्त्री नेम्वाङले संघीय राजधानीसमेत रहेको काठमाडौँ क्षेत्रलाई व्यवस्थित र उज्यालो राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना अघि बढेको बताए। ‘धुलो र हिलोरहित काठमाडौँ बनाउने अभियानमा हामी यस अघिदेखि नै सक्रिय थियौँ। कामपाको पहलमा उज्यालो काठमाडौँ महानगर बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक छ,’ उनले भने।

कामपा प्रमुख शाक्यले लामो समयको प्रयासपछि सहमति भएको भन्दै यस कार्यले शहरी सौन्दर्य अभिवृद्धि गर्न ठूलो सहयोग पुग्ने बताए।

सहमतिपत्रमा कामपा क्षेत्रभित्रका मुख्यमुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीहरूमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा कामपाको ६० र प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ।

त्यसैगरी चालु आवमा प्राधिकरणको ४० प्रतिशत लगानीका लागि आवश्यक रकम कामपाले उपलब्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमति भएको छ।

यस आयोजनाको निर्माणपश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथलगायतको मर्मत कार्य सडक विभागले गर्नेछ। सडक बत्ती जडान, सञ्चालनलगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिइनेछ।

सोही संयन्त्रले सडक बत्तीहरुको सम्भाव्य विस्तार र स्थलहरूको पहिचान अध्ययन गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेजस्ता विषय सहमतिपत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .