सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँके जिल्लाको कोहलपुर नगरपालिका–२ बर्दवामा स्थापना भएको नेपाल एपीएफ स्कुल कोहलपुर बाँकेको उद्घाटन गरेका छन्।
त्यसअवसरमा उनले राजधानी बाहिर यस्ता विद्यालय सञ्चालन गरिँदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततीको गुणस्तरीय शिक्षादिक्षामा योगदान पुग्ने चर्चा गर्दै प्रदेशस्तरमा विद्यालय विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी विद्यालय सञ्चालनमा ल्याइएको बताए।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले शिक्षा सभ्य समाज निर्माणको आधारशिला भएको तथा शिक्षाको विकाससँगै राष्ट्र सम्बृद्धिको बाटोमा अगाडि बढ्ने चर्चा गर्दै हाम्रो जस्तो विकासशिल देशमा शिक्षाको विकास समग्र राष्ट्रको विकासको मेरुदण्ड रहेको बताए।
उनले नेपाल एपीएफ स्कूलले समग्र राष्ट्रको शिक्षाको विकासमा समेत महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गर्दै हालको जटिल अवस्थामा समेत विद्यालय सञ्चालनमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरे।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु सीमा सुरक्षाको साथै राज्य प्रदत्त विभिन्न जिम्मेवारीका क्षेत्रहरुमा देशका विभिन्न ठाउँहरुमा रहेर सीमित साधनश्रोतका बावजुद कार्यक्षेत्रमा अहोरात्र खटिई राष्ट्रको सुरक्षा तथा आम नागरिकको सुरक्षा, सेवा र सहयोगमा पु-याएको योगदानको विभिन्न क्षेत्रहरुबाट प्रशंसा भइरहेको चर्चा गर्दै सशस्त्र प्रहरी कर्मचारीहरु अगामी दिनमा समेत अझ बढी सजग र सतर्क भई व्यावसायिक जिम्मेवारी निर्वाहमा कृयाशिल रहने उल्लेख गरे।
सो विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाइन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन भइरहेको कुरा सो कार्यक्रममा जानकारी गराइएको थियो।

प्रतिक्रिया