समाज


पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ७:३५,

पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ। विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो।

गण्डकी स्वास्थ्य निर्देशनालयबाट प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालको व्यवस्थापन सुदृढीकरण मूल्यांकन अन्तर्गत ‘न्यूनतम सेवा मापदण्ड’ मूल्यांकनले अस्पतालले पछिल्लो एक वर्षमा व्यापक सुधार गरेको पुष्टि भएको छ। ‘न्यूनतम सेवा मापदण्ड’ मूल्यांकनमा गत वर्ष ४७ प्रतिशत नतिजा आएकामा यस वर्ष ७८ प्रतिशत नतिजा आएको हो।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवा गरी तीन वटा मूल विषयभित्र रहेर कूल ७६१ ओटा सूचकमा गरिएको मूल्याङ्कनमा अस्पतालले ती नतिजा पाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले बताए।

स्वास्थ्य निर्देशनालयले पर्वत अस्पतालमा भइरहेका शल्यक्रिया सेवा, डिजिटल एक्स–रे सेवा, ल्याब सेवा, मिर्गौलाको डाइलोसिस सेवा, शव चिस्यान केन्द्र, अक्सिजन प्लान्ट, सघन उपचार केन्द्र र भेन्टिलेटर सञ्चालन, गरिबका लागि विपद् कोष स्थापना, विशेषज्ञ सेवा, अत्याधुनिक अस्पताल भवन निर्माण, आयव्यय हिसाब सफ्टवेयर प्रणालीमा लैजानु, विदेशमा रहेका नेपालीसँगको सहकार्यमा आधुनिक उपकरण ल्याउनु, गत वर्ष स्वीकृत भएका सबै बजेट शीर्षकमा काम पूरा गरेर बजेट ‘फ्रिज’ हुन नदिनुलगायतलाई उल्लेख्य उपलब्धिको रूपमा लिएको हो।

अघिल्लो अवधिमा प्राप्त भएको नम्बरमा एकै अवधिमा ३१ नम्बर बढी ल्याउने पर्वत अस्पताल गण्डकी प्रदेशकै पहिलो भएको उनको भनाइ थियो। ‘‘एक वर्षको अवधिमा यति ठूलो प्रतिशत अन्तरको नम्बर ल्याउन अस्पताल सफल भएको छ’, उनले भने, ‘अस्पतालमा शुरु भएका भौतिक निर्माणका काम र यहाँबाट प्रदान भइरहेका सेवा दुवै पक्षमा राम्रो सुधार भएको छ।’

पछिल्लो समय अस्पतालमा थप हुँदै गएका सेवा सुविधालाई निर्वाध रूपमा सञ्चालन गर्न सक्नुपर्ने उनको सुझाब छ। अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले व्यवस्थापन समितिको क्रियाशीलता, स्रोतसाधन जुटाउन गरेको मिहेनत, विभिन्न संघसंस्थाको सहयोग तथा अस्पतालका कर्मचारीको अथक प्रयासले मात्रै अस्पतालको सेवा सुविधामा सुधार भएको र उल्लेख्य नतिजा हासिल गरेको बताए। ‘‘यो सफलता पाउनको लागि सरकारदेखि मातहतका निकाय, अस्पताल विकास समिति, सहयोग तथा चन्दादाता, कार्यरत कर्मचारीलगायत सबैको अमूल्य पसिना परेको छ,’ उनले भने।’

जिससद्वारा सात रकम विनियोजन
जिल्ला समन्वय समितिको शुक्रबारको चौथो जिल्लासभाले जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको रु पाँच करोड ६१ लाख ६८ हजार ५०० मध्ये जिल्लाका सात स्थानीय तहलाई रु ४० लाखका दरले विनियोजन गरेको छ। मौज्दात रकममध्ये रु दुई करोड ६१ लाख ६८ हजार ५०० जिल्ला समन्वय समितिको नयाँ भवन निर्माणका लागि खर्च गरिने र बाँकी रहेको रकम सातवटै पालिकालाई रु ४० लाखका दरले विनियोजन गर्ने निर्णय सभाले गरेको जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिए।

सो रकम साविक जिल्ला विकास समितिबाट जिम्मेवारी सरेर आएको हो । विनियोजित बजेटबाट सातवटै स्थानीय तह र समन्वय समितिको साझेदारीमा विभिन्न योजना बनाउनुपर्ने निर्णय गरिएको छ। समितिको भवन निर्माण प्रक्रियासमेत यसै आर्थिक वर्षदेखि शुरु गरिने ढकालले जानकारी दिए।

सभाले जिल्लामा ढुंगा, गिटी बालुवा उत्खनन बिक्री र व्यवस्थापनसम्बन्धी कार्य गर्दा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भएका शर्त, ठेक्का प्रक्रिया, अनुगमन समितिले दिएका निर्देशनसमेत स्थानीय तहले पालना गर्ने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी ढकालले जानकारी दिए।

विभिन्न १२ बुँदे निर्णय गर्दै सम्पन्न भएको सभाले चालू आर्थिक वर्षका लागि संघ र प्रदेश सरकार र अन्य स्रोतबाट प्राप्त हुने बजेट तथा कार्यक्रम प्राथमिकीकरण र वर्गीकरण गरी कार्यान्वयन गर्न जिल्ला समन्वय समितिलाई अधिकार प्रदान गर्ने निर्णय गरेको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जिल्लामा न्यूनीकरणका लागि संघ र प्रदेशबाट जारी भएका आदेशको कार्यान्वयनमा सहयोग पु¥याउने, अस्पतालको स्तरवृद्धि, क्षमता वृद्धिका लागि सहजीकरण गर्ने, स्थानीय तहबाट भइरहेका विकास निर्माणका आयोजना तथा राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउनका लागि समन्वय गर्ने, स्थानीय पूर्वाधार विकास कार्यक्रम प्रदेश सरकारको पनि संघीय सरकारकै कार्यविधि अनुसार परिमार्जन गर्ने प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत सभाले गरेको छ।

त्यसैगरी जिल्लामा विद्युत् र खानेपानी नपुगेको ठाउँमा सर्वसुलभ रुपमा ती सेवा पु¥याउन स्थानीय तहमा आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने निर्णय सभाले गरेको हो। जिल्ला सभाको प्रतिनिधिसभाका सांसद पदम गिरीले उद्घाटन गर्दै जिल्लाको समग्र विकासका लागि तीन तहका जनप्रतिनिधि एकजुट हुनुको विकल्प नरहेको बताए।

आधुनिक बसपार्क र सिटी हल बन्दै
सदरमुकाम कुश्मामा आधुनिक बसपार्क निर्माणसहित सिटी हल निर्माणका लागि प्रक्रिया शुरु भएको छ। संघीय सरकारको शहरी विकास मन्त्रालयले कुश्मामा बसपार्कसहित सिटी हल निर्माणका लागि बजेट विनियोजन गरेपछि निर्माणका लागि आवश्यक प्रक्रिया थालिएको हो । नगरपालिकाले सो कार्यका लागि डिपिआर तयार पारिसकेको छ।

तत्कालका लागि प्रारम्भिक काम गर्न मन्त्रालयले रु एक करोड बजेट पठाइसकेको कुश्मा नगरपालिकाले जनाएको छ। डीपीआर निर्माणपछि बहुवर्षे ठेक्काको प्रक्रिया शुरु हुने नगरपालिकाले जनाएको छ। अहिले रु एक करोड रकमबाट जग्गा सम्माउने, पर्खाल निर्माण गर्ने, प्रारम्भिक चरणमा आवश्यक पर्ने निर्माण सामग्री खरिद गर्नेलगायतका काम हुने नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए।

सरकारले बजेट पुस्तिकामा कुश्मामा बसपार्क निर्माण गरिने उल्लेख गरेको छ। कुश्मा नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा बसपार्कसहित सिटी हल निर्माणलाई प्राथमिकतामा राखेको छ । कुश्मा बजार विस्तार हुँदै गइरहेको, भित्री बाहिरी चक्रपथ निर्माण भइरहेको, पर्यटकीयस्थल थपिँदै गएकाले कुश्मा आधुनिक शहरको रुपमा विकास हुन थालेको जोशीले बताए।

शहरी विकास कार्यालय बागलुङलाई कुश्मा नगरपालिकाले प्रारम्भिक चरणमा गर्नुपर्ने कामको सूची तयार पारेर दिने तयारी गरेको छ । बसपार्क तीन तल्लाको निर्माण हुने गरी डिपिआर तयार भएको छ । भूइँतलामा ठूला बस, पहिलो तलामा सभाहल, दोस्रो तलामा साना सवारी पार्किङ गरिने र तेस्रो तलामा १५० जनाभन्दा बढी मानिस अट्ने हल निर्माण गरिने भएको छ। सबै काम सम्पन्न गर्न करिब एक रु अर्ब बजेट लाग्ने गरी डिपिआर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad