ad ad

अटो


नयाँ सवारीसाधन लाइसेन्स तत्काल नखुल्ने, ट्राफिक प्रहरी भन्छ : परीक्षा नभए दुर्घटना बढ्छ

नयाँ सवारीसाधन लाइसेन्स तत्काल नखुल्ने, ट्राफिक प्रहरी भन्छ : परीक्षा नभए दुर्घटना बढ्छ

वसन्त अर्याल
मंसिर १४, २०७७ आइतबार ७:४०,

सवारी करसम्बन्धी सबै कार्यालय खोलिरहेका प्रदेश सरकारले सवारी अनुमतिपत्र (लाइसेन्स) तत्काल नखोल्ने बताएका छन्।

यातायात व्यवस्था विभागले तिहारलगत्तै लाइसेन्सको परीक्षा खुल्ने बताए पनि प्रदेश सरकार भने तत्काल खोल्न तयार नभएका हुन्।

गत वर्ष चैत ११ देखि लकडाउनका कारण बन्द भएको लाइसेन्ससम्बन्धी परीक्षा अहिलेसम्म खुल्न नसकेको हो। लाइसेन्सका लागि अनलाइन फारम खोल्न यातायात व्यवस्था विभाग तयार भए पनि प्रदेश सरकारले अहिले परीक्षा लिन तयार नभएको जवाफ दिएका छन्।

संघीयता कार्यान्वयनसँगै यातायात प्रदेशभित्र यातायात सञ्चालन तथा नियमन गर्ने अधिकारी प्रदेश सरकार मातहत रहेको छ। यातायातसम्बन्धी कर उठाउने तथा लाइसेन्सका लागि लिखित तथा मौखिक परीक्षा लिने जिम्मेवारी प्रदेश सरकारको हो।

प्रदेशका यातायात कार्यालयले कर तिर्न ताकेता गरिरहेका छन् भने नयाँ लाइसेन्सको परीक्षा नगर्दा धेरै सेवाग्राही मारमा परेका छन्।

सरकारले स्वास्थ्य मापदण्ड पालना गरी यातायातका सबै गतिविधि खुल्ला गर्न सक्ने बताए पनि प्रदेश सरकार त्यसको व्यवस्थापन गर्न अक्षम भएका छन्।

यातायात व्यवस्था विभागले सबै प्रदेशलाई जोड्नको लागि सफ्टवेयर निर्माण गरेको छ। जसमा सबै प्रदेशका आवेदकले अनलाइन फारम भर्न पाउँछन्। केन्द्रले पठाएको प्रश्नपत्रमा सम्बन्धित प्रदेशले परीक्षा आवेदकलाई परीक्षा गराउँदै आएका छन्।

‘संघीय सरकारले सफ्टवेयर निर्माण गरी सबै प्रदेशलाई जोडिसकेको छ’, यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुषालले भने, ‘प्रदेशले सूचना जारी गरी हामीलाई पत्र पठाए अनलाइन आवेदन खुल्ला गर्छौं। हामीलाई कुनै समस्या छैन।’

भुषालले लाइसेन्सको परीक्षा कहिले खुल्छ भन्ने प्रदेश सरकारमै भर पर्ने बताए।

प्रदेश सरकारले लकडाउन तथा निषेधाज्ञाका कारण बन्द भएको सवारी चालक अनुमतिपत्रको लागि परीक्षा गराउन सहज नभएको बताएका छन्।

‘संघीय सरकारले नै अत्यावश्यक कामबाहेक अन्य काम नगर्न भनेको छ’, वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयका प्रवक्ता नविन कुमार सिंहले नेपालखबरसँग भने, ‘कोभिड महामारीको अवस्था कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक काम गर्न अनुरोध गरेका छन्। वाग्मती प्रदेशमा कोभिडको जोखिम बढी भएकाले तत्काल लाइसेन्सको परीक्षा खुल्ने अवस्था छैन।’

वाग्मतीमा १ महिना अझै नखुल्ने, लुम्बिनी सीसीएमसीको निर्णय कुर्दै
सबैभन्दा बढी सवारी सञ्चालन हुने वाग्मती प्रदेशले अझै १ महिना लाइसेन्सको परीक्षा नखुल्ने जानकारी दिएको छ।

‘अहिले लाइसेन्सको परीक्षा सञ्चालन गर्ने कुनै तयारी छैन। वाग्मती प्रदेशमा १ महिनाअघि लाइसेन्सको परीक्षा हुँदैन’, सिंहले स्पष्ट पारे।

सवारी चालक अनुमतिपत्रको आवेदन पर्दा अत्यधिक चाप हुने लुम्बिनी प्रदेशले पहिला फर्म भरेका परीक्षार्थीको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरे पनि तत्काल नयाँ खुल्ने सम्भावना कम रहेको बताएको छ।

लुम्बिनी प्रदेशले १ हप्ता अघिबाट आफ्ना यातायात कार्यालयहरुमार्फत पुराना परीक्षा लिइरहेको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ।

‘लकडाउनअघि नै आवेदन परेका परीक्षा अहिले सञ्चालन गरिरहेका छौँ’, मन्त्रालयका यातायात शाखा अधिकृत तुलसीराम अधिकारीले भने, ‘नयाँ आवेदनका लागि प्रदेश सरकारले निर्णय गरेको छैन। प्रदेशको कोरोना संकट व्यवस्थापन केन्द्रले लाइसेन्सको परीक्षा सञ्चालन गर्ने निर्णय ग¥यो भने नयाँ आवेदन खुल्छ।’

उनले लाइसेन्स खुल्नेबित्तिकै आवेदन तथा परीक्षा दिनेको भीड लाग्ने हुँदा कोरोना जोखिम झन् बढ्ने सम्भावना रहेको बताए।

‘स्कुल तथा कलेज सहज रुपमा सञ्चालनमा गर्न अवस्था आउँदा हामी पनि लिखित परीक्षा गराउन सक्छौँ’, अधिकारीले भने, ‘ट्रायलको लागि पनि भीडभाड बढी हुने हुँदा स्वास्थ्य सुरक्षा कसरी व्यवस्थापन गर्ने चुनौती हुन्छ।’

‘विना लाइसेन्स सवारी चलाउँदा दुर्घटना बढ्छन्’
यसैबीच, लामो समय चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन नसकेको भन्दै दुर्घटना बढ्नसक्ने ट्राफिक प्रहरीले बताएको छ।

ट्राफिक प्रहरी महाशाखाका एसपी रामेश्वर प्रसाद यादवले लाइसेन्सको परीक्षा नभए विना लाइसेन्स सवारी सञ्चानल गर्नेको संख्या बढ्ने बताए।

‘विना लाइसेन्स सवारी सञ्चालन गर्न पाइँदैन। हामीले भेटे कारबाही गर्छौँ। तर लामो समय लाइसेन्सको परीक्षा नै दिन नपाए जोखिम मोल्दै सवारी सञ्चालन गर्ने बढ्न सक्छन्’, यादवले भने, ‘लाइसेन्सविना सवारी सञ्चालन गर्दा कन्फिडेन्ट कम हुन्छ। ट्राफिक प्रहरीलाई देखेपछि भाग्न खोज्छ। जसले जोखिम निम्त्याउँछ।’

उनले दुर्घटना न्यूनीकरणको लागि पनि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .