सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ।
बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। उनका अनुसार पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ।
पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएको प्रहरीले जनाएको छ। तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीले आरोपितले बालिकालाई घरमा बोलाएर यौन दुव्र्यवहार गरेको बताए। कपडा खोलेपछि बालिकाले चिच्याएको सुनी स्थानीयवासी पुगेर बालिकाको उद्धार गरेको उनले जानकारी दिए।
वडाध्यक्ष चौधरीका अनुसार अरोपित महतोले पाँच वर्षअघि पनि गाउँकी एक बालिकालाई यौन दुव्र्यवहार गरेका थिए। गाउँमा बसेको पञ्चायतले उतिबेला रु ६०० जरिवाना तिराएर छाडिएका स्मरण गर्दै वडाध्यक्ष चौधरीले भने, ‘त्यसबेला गाउँले मिलेर छाडे, अहिले पुनः उनैबाट यस्तो घटना भयो।’ रासस
Shares

प्रतिक्रिया