नवलपरासीमा १५ वर्षीया किशोरीमाथि सात जनाले सामूहिक बलात्कार गरेका छन्। बलात्कारमा संलग्न भएको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
स्थानीय १५ वर्षीया किशोरीलाई सात जनाले सामूहिक बलात्कार गरेका हुन्। जबर्जस्ती करणीमा संलग्न दुई जना पक्राउ परे पनि पाँच जना फरार रहेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा स्थानीय कृष्ण गुप्ता र किसन केवट रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। उनीहरु पनि किशोरीकै उमेर समूहका किशोर हुन्।
कात्तिक २७ गते राति किशोरी घर नजिकै धारामा पानी लिन जाँदा सामूहिक बलात्कारको घटना भएको हो। उनीहरुले किशोरीको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगैँचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताइन्।
किटानी जाहेरीका आधारमा दुई किशोरलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। पीडित किशोरीका अभिभावकले भने दोषीलाई कारबाहीबाट उन्मुक्ति दिन राजनीतिक चलखेल सुरु भएको आरोप लगाएका छन्।

प्रतिक्रिया