अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनीहरु एमके/वाईपी ज्वाइन्ट भेन्चरका प्रतिनिधि देवजंग शाहीविरुद्ध साढे १८ लाख बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। शाहीलाई डिभिजनल इन्जिनियर बचाउन खोजेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो।
आयोगले साबिक जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सीडीई लालु गिरीले घुस लिएर भ्रष्टाचार गरेको आरोपमा ०७५ फागुन २३ मा विशेष अदालत काठमाडौंमा दायर मुद्दामा उक्त भेन्चरका प्रतिनिधि शाहीले अनुसन्धानको क्रममा अन्यथा हुने गरी बकपत्र गरेको भन्दै मुद्दा दर्ता गरेको हो।
उक्त मुद्दामा गिरीलाई सजाय मागदाबीमा पूर्ण छुट दिएर साक्षी बनेका शाहीले अनुसन्धानको क्रममा गरेको कागज व्यहोरालाई प्रतिकूल बकपत्र गरेका थिए।
यसको अनुसन्धान हुँदा शाहीले भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नति योजनाको भुक्तानीका लागि जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन जिल्ला इन्जिनियर गिरीले उपलब्ध गराएको बैंक खातामा साढे १८ लाख घुस रकम जम्मा गरेको खुलेको छ।
सोही कारण शाहीविरुद्ध आयोगले साढे १८ लाख नै मागदाबीसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रतिक्रिया