स्थानीय प्रशासनको सहमतिबिनै डोल्पाका विद्यालय खुलेका छन्। कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण गएको चैतदेखि बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन्।
तर, स्थानीय प्रशासनले भने विद्यालय तत्काल बन्द गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो।
लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरिएको नगरपालिकाले जनाएको छ।
नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको त्रिपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए। सात–आठ महिनासम्म क्वारेन्टिन चलाइएको विद्यालयलाई सामान्य सरसफाई गरेर सञ्चालनमा ल्याइएको उनको भनाई छ । तर, ठूलीभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन्।
प्रशासनले खुलेका विद्यालयलाई बन्द ताकेता गर्न थालेपछि ठुलीभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ । तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि विद्यालय खुलेका छन्।
विद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफुखुशी विद्यालय चलाएको स्थानीय प्रशासनको भनाई छ।
जिल्ला प्रशासन कार्यालयले विद्यालयमा हुने जमघटका कारण कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै जिल्लाका स्थानीय तहलाई विद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ। निर्देशनलाई बेवास्ता गर्दै त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिका तथा जगदुल्ला र मुड्केचुला गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याएका हुन्। रासस
प्रतिक्रिया