समाज


जब घाट जाँदै गरेका मलामीले एकोहोरो शंख बजाएको बाँदरले सुन्यो...

जब घाट जाँदै गरेका मलामीले एकोहोरो शंख बजाएको बाँदरले सुन्यो...

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार १:५५,

बर्खाको खेती होस् वा हिउँदको तरकारी। घर छेउका जङ्गलमा बस्ने बाँदरको बथानले सधैँ विनाश मच्चाउने । खान भनेर लगाएको खेती बाँदरले बोकेर हिँडेपछि किसान सधैँ निराश।

खेतीपाती नासिएकै पीडाले  बागलुङको जैमिनी नगरपालिका–२ दमेकका केही घर विस्थापित भए । जैमिनी नगरका सबै वडामा बाँदरको समस्या उस्तै छ।

सेतो रङ भएको ठुलो बाँदरभन्दा रातो रङ भएको सानो बाँदरले घरघरमै पसेर खाद्यान्नको विनाश गर्छ । ससना बालबच्चा र एक्लै भेटिने वयस्कलाई समेत बाँदरले टेर्दैन । कुकुरलाई एक्लै भेटेर बाँदरले कुटेका कयौँ उदाहरण किसानसँग छन्।

समूह बनाएर बाँदर लखेट्ने, एक दुईवटा बाँदर समाउनेदेखि बाँदरले मन नपराउने मोलासिस जातको घाँस लगाउनेसम्मका विधि किसानले गरे, तर केही सीप लागेन।

अघिल्लो आर्थिक वर्षमा किसानका गुनासालाई सम्बोधन गर्न नगरपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख विनियोजन गर्यो। दश वडा रहेको नगरमा हरेक वडालाई र ५० हजार बाँदर नियन्त्रणका लागि अनुदान दिइयो तर केही लागेन। ‘चौबीसै घण्टा हेरेर बस्ने समय किसानसँग हुँदैन, आँखा चिम्लियो कि खेतीमा बाँदरको रजाईँ’, जैमिनी–१ कुश्मीशेराका प्रेम पौडेल भन्छन्, ‘हामीले जानेको सबै विधि अपनाइयो, बथान बढेपछि बाँदरले टेर्नै छाडे।’

नगरपालिकाले स्याङ्जाबाट खरिद गरेर बाँदर लखेट्ने मेसिनसमेत किसानलाई दिएको छ । कार्बन पड्काउने मेसिनले धपाएको बाँदर घुमीफिरी आउँदा किसान थप चिन्तित थिए । अनेकौँ उपाय लगाएर बाँदर धपाउँदा पनि केही नलागेपछि चिन्तित रहेका यहाँका केही किसानले पछिल्लोपटक अपनाएको विधि भने प्रभावकारी बन्न थालेको छ।

साविकको कुश्मीशेरा गाउँ विकास समिति–२ का किसानले पछिल्लो समय बालीमा बाँदर पसेपछि शङ्ख बजाउन थालेका छन् । शङ्खको आवाजले बाँदर भाग्न थालेपछि किसानले घरेलु विधि अपनाएका हुन्। ‘सुन्दा नराम्रो सुनिन्छ, पहिले एकदुई पटक एकोहोरो शङ्ख फुक्दा गाउँले तर्सिए’, वडा नं.१ का वडा सदस्यसमेत रहेका किसान रुद्रनाथ शर्माले भने, ‘बाँदर बसेको ठाउँमै पुगेर एकोहोरो शङ्ख फुकेपछि केही दिन बाली खान आउँदैन।’

अहिले गाउँका सबैलाई बाँदर आउँदा शङ्ख फुक्ने बानी परेको छ । सबैको घरमा शङ्ख हुने र फुक्नसमेत सबैले सक्ने भएकाले यो विधि उपयुक्त रहेको शर्मा बताउछन्

किसानले शव बोकेर सागर जाने समयमा बजाएको शङ्खको आवाजले बाँदर भागेको देखेर यो विधि अपनाएका हुन्।

बाँदर मार्न नपाइने भएकाले नियन्त्रण गर्न निकै समस्या रहेको सरोकारवाला बताउँछन्। ‘नमारेसम्म बाँदर डराउँदैन, कानूनीरूपमा मार्न मिल्ने व्यवस्था छैन’, जैमिनी–२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले भने, ‘पहिले लेकमा नदेखिने बाँदर आजभोलि माथि उक्लिएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad