प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ। ६३ वर्षीय नेता केसीको सोमबार राति निधन भएको हो।
पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा सोमबार राति १०ः३० बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। मिर्गौलाका बिरामी उनी केही समयदेखि सुगर र प्रेसरबाट पीडित थिए। उनलाई निमोनियाँको पनि आशंका गरिएको छ। अचानक रक्तचाप कम भएपछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पहिलो संविधानसभामा राप्रपपाबाट सांसद बनेका केसी ३ वर्षअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए। पोखराका प्रतिष्ठित व्यवसायी केसीको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जनाएको छ।
२०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्य थिए। उनी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्चसमेत थिए।
चाउचाउ उद्योग, जलविद्युत आयोजना लगायतका क्षेत्रमा ठूलो लगानी गरेका केसी माछापुच्छ्रे बैंकका संस्थापक समेत हुन्।
यसैबीच सभामुख अग्नी सापकोटाले सांसद केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
‘प्रतिनिधि सभा सदस्य माननीय सूर्यबहादुर केसीको गएराति आफ्नै निवास पोखरामा निधन भएको खबरले दुखित बनाएको छ,’ सापकोटाले ट्विटरमा लेखेका छन्, ‘दिवंगत माननीय सदस्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवारजन तथा सम्पूर्ण आफन्तमा गहिरो समवेदना व्यक्त गर्दछु।’
Shares

प्रतिक्रिया