खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन्।
मंगलबार साँझ दसैंको टीका थाप्न आफन्तकोमा जाँदै गरेका यात्रु सवार ट्याक्सी दुर्घटनामा परेको हो। उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानीतर्फ जाँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका-५ सोह्रखानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। ट्याक्सी सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ।
दुर्घटनामा परी बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बृहस्पतिका पति २८ वर्षीय छत्रबहादुर राई, उनका ९ महिनाका छोरा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएका छन्।
दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न उनीहरू ट्याक्सी रिजर्भ गरी चिसापानीतर्फ जान लागेका थिए।
घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घाइतेको अवस्था गम्भीर छ। दुर्घटनापछि ट्याक्सी चालक फरार भएका प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया