ad ad

समाज


‘अक्षम स्वास्थ्यमन्त्री’ र ‘स्वार्थ समूह’का कारण कोरोना संक्रमितले उपचार पाएनन्: विज्ञ

‘अक्षम स्वास्थ्यमन्त्री’ र ‘स्वार्थ समूह’का कारण कोरोना संक्रमितले उपचार पाएनन्: विज्ञ

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार २:३०,

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सरकारलाई कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने निर्णय तुरुन्त फिर्ता लिन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सरकारलाई उनले लोककल्याणकारी राज्य यति क्रूर हुन नमिल्ने चेतावनी पनि दिएका छन्। 

साथै डा‍. पाण्डेले ‘असक्षम स्वास्थ्यमन्त्री’ र त्यहाँ रहेको ‘स्वार्थ समूह’का कारण दिनप्रतिदिन जनतामा निराशा तथा आक्रोश छाएको पनि उल्लेख गरेका छन्। 

उनकाे भनाइ यस्ताे छ- 

गरिब जनताले २,००० तिरेर पीसीआर टेस्ट गर्न सक्दैनन्। टेस्ट नगरेपछि उनीहरूलाई संक्रमण भए नभएको थाहा हुँदैन। उनीहरू समाजमा घुलमिल हुन्छन्। त्यसले संक्रमण थप बढाउँछ।

गरिब जनताले ५० हजारदेखि २ लाखसम्म धरौटी राखेर उपचार गर्न सक्दैनन्। यो अवस्थाले धेरै नागरिक घरमै गम्भीर हुने वा मृत्यु हुने सम्भावना बढेको छ।

अस्पतालले शवलाई नुहाएर, संक्रमणरहित बनाएर, प्लास्टिकमा विधिपूर्वक प्याक गरेर, सेनाले शव व्यवस्थापन गर्दा त ती सेनामा संक्रमण सरेको थियो भने घरमा मृत्यु भएका संक्रमितको शव उठाउन एम्बुलेन्स, शववाहन, ट्याक्सी वा अन्य साधन आउने छैनन्, घरमा संक्रमणरहित बनाउन असम्भव छ, छिमेकीले शव उठाउन सहयोग नगर्न सक्छन्। त्यो स्थिति कति पीडादायक होला?

लोककल्याणकारी राज्य यति क्रूर हुन मिल्दैन।

स्वास्थ्य मन्त्रालयले गरेको त्यो निर्मम निर्णय फिर्ता गर्नुको विकल्प छैन।

पैसा भएका त प्राइभेटमै गएका छन्, परिक्षण तथा उपचार गर्न। पैसा नहुनेले सास्ती भोगेर सरकारी ल्याब तथा अस्पतालमा जाने गर्छन्।

अहिलेसम्मको इतिहासमा सरकारी अस्पतालले धरौटी राख्ने, निःशुल्क उपचार नगर्ने, निःशुल्क परिक्षण नगर्ने तथा धरौटी राखेर मात्र खाना पाउने व्यवस्था थिएन।

असक्षम स्वास्थ्यमन्त्री र त्यहाँ रहेको स्वार्थ समूहका कारण दिनप्रतिदिन जनतामा निराशा तथा आक्रोश छाएको छ।

यो टिमले काम गर्न सक्दैन भनेर हामीले ६ महिना पहिलेदेखि भन्दै आएका थियौं। राइट म्यान, राइट प्लेस होस्।

जनस्वास्थ्यको मर्म बुझेका डा. महेश मास्के, डा. शरद वन्त, उच्च नैतिकता भएका डा. भगवान कोइराला र डा. अर्जुन कार्कीजस्ता व्यक्तिलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएमा संक्रमण नियन्त्रण छिटो हुन्छ, भ्रष्टाचार तथा अनियमितता नियन्त्रण हुन्छ।

त्यसो त कुर्सीमा पुगेपछि आँखामा चस्मा हुँदोरहेछ। चिनेकालाई पनि बिर्सिने, गुन लगाएकालाई पनि अल्जाइमरको कारण बिर्सिने, नागरिकलाई तल कमिलोजस्तै देख्ने, घमण्डले छाती सगरमाथा बन्ने।

जनताले पदलाई होइन, कामलाई सम्मान गर्ने हुन्, पहिलेको को मन्त्रि भए जनतालाई थाहा नै छैन। जसले आफ्नो धरातल, इमान तथा कर्तव्य सम्झेर काम गरे, ती जनताको आँखामा अहिले पनि छन्।

काम नगर्ने तर जनताको करबाट विलासी जीवन बिताउनेलाई आम नागरिकले घृणा गर्छन्। १–२ सय चाटुकारले रूखको टुप्पोमा पुर्याए भन्दैमा मक्ख नपर्नुहोला। उनीहरूले तपाईंलाई हैन, कुर्सीलाई धुपबत्ती गरेका हुन्।

आगे चुनाव छ, किन यतिविधि अलोकप्रिय हुन खोजेको सरकार? (डा. पाण्डेको फेसबुकबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .