ad ad

समाज


दसैंको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदै, शक्तिपीठहरु सुनसान

दसैंको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदै, शक्तिपीठहरु सुनसान

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार १:४२,

हिन्दू धर्माबलम्बीको माहान् पर्व बडा दसैंको आज आठौं दिन। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा आराधना गरी मनाइँदै छ।

हिन्दू धर्माबलम्बीले आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गर्ने गर्छन्।

महाअष्टमीका दिन दसैँघर, कोतघर लगायत देशका विभिन्न शक्तिपीठहरुमा पशु बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। 

देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन्। भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन्। 

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दशैँ, तिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन्।

कोरोना संक्रमणको त्रासका कारण शुक्रबार काठमाडौँको हनुमानढोका दरबारमा सांकेतिक रुपमा मात्रै फूलपाती भित्र्याइएको थियो।

पशुबली नचढाउनेहरुले आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्छन्।

आज काठमाडौँका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरमा बलि चढाउने र पूजा आराधना गर्ने प्रचलन छ।

यसैगरी, राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा हिन्दू धर्माबलम्बीले शक्तिरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ।

आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर पारिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .