विगतका दसैंमा कैलालीको टीकापुर नगरपालिका–४ बाघमाराकी खेमा शर्माले आफ्नो घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क पार्थिन्।
तर, यस वर्ष कोरोना महामारीको त्रासले उनलाई दशैँ मनाउन मन लागिरहेको छैन। ‘समय सबैभन्दा बलवान हुँदो रहेछ। हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिड्नुपर्छ,’ उनले भनिन्, ‘यो बेला कोरोना भाइसर सङ्क्रमणले सबैतिर आक्रान्त पारेको छ । कोरोनाको प्रभाव र सरकारको आग्रहअनुसार सुरक्षित भएर बस्नुपर्ने भएकोले आँगनमा आएको दशैँ पनि मनाउन मन लागेन।’
शर्माले यस वर्ष घरमै सामान्य पूजाआजा र टिकाटालो गर्ने बताइन्। ‘‘अघिल्ला वर्षजस्तो यस वर्ष खसी ढाल्ने, माइती जाने, आफन्तकहाँ जाने र आउने कार्यक्रम छैन, उनले भनिन्, ‘यस वर्ष बाँचे अर्को वर्ष दसैं मनाउँला भनेर केही नगर्ने सोच बनाएका छौँ।’
शर्माको घरमा जस्तै यस वर्षको दशैँमा गाउँघरमा विगतका वर्षजस्तो चहलपहल देखिँदैन। विगतका वर्षमा हप्ता दिन पहिले घर लिपपोत गर्ने, सरसमान मिलाउने, गाउँमा नाचगान गर्ने गरिन्थ्यो। तर यस वर्ष त्यस्तो भएको खासै नदेखिएको टीकापुर–१ विपतपुरका विरबहादुर मगरले बताए।
‘दशैँ भनेपछि गाउँ नै रमाइलो हुन्थ्यो, बाहिर भएका सबै घर फर्कन्थे’, मगरले भने, ‘तर ‘यस वर्ष त दशैँ अगावै खर्च सकिएर लकडाउनमा घर फर्केका नेपाली भारत पसेका छन्, आर्थिक समस्या टार्न नसकेर कामको खोजीमा उनीहरु भारत पसेका हुन्।’
पहिले भारत वा देश बाहिर रहेका, विभिन्न कारणले घर बाहिर भएकाहरु दशैं मनाउन गाउँघर फर्कनेको लर्को लाग्थ्यो । दशैँमा गाउँमा उमङ्ग हुन्थ्यो। तर यस वर्ष खासै उत्साह नभएको भजनी नगरपालिका राजबाराकी आरती विकले बताए। ‘गाउँमा सबै त्रसित छन्, मानिसले बोलचाल बन्द गर्न थालिसके। ‘म पनि यस वर्ष माइत नजाने सोचमा छु,’ उनले भनिन्।
विगतका वर्षमा दशैँको समयमा थारु गाउँमा निकै चहलपहल हुन्थ्यो । आजभोलि थारु गाउँमा पनि चहलपहल र रमाइलो छैन।
विगत वर्षमा यो समयमा फरक–फरक टोल र थारु गाउँका नाटक, थारु नांच हुने गरेको देखिन्थ्यो। तर यस वर्ष त्यस्तो उल्लास नभएको टीकापुरकै राजाराम चौधरीले बताए। ‘थारु समुदायले एक महिनासम्म नाच्ने सखिया, बड्का, मुङग्रौहा, झुम्रा लगायतका नाच पनि यस वर्ष भएनन्,’ उनले भने।
कोरोनाका कारण गाउँघर मात्र नभइ शहर बजारमा पनि नागरिकको चहलपहल कम छ। बन्दाबन्दीले आर्थिक संकट पनि सिर्जना गरेको छ। टीकापुरकी कमला रावल मानिसको चहलपहल नहुनुमा आर्थिक कारण पनि रहेको बताउँछिन्। ‘छ महिनादेखि सबै क्षेत्र बन्द रह्यो, मानिससँग रुपैयाँ छैन,’ उनले भनिन्, ‘रकम भए पो किनमेल, चहलपहल हुन्छ।’
टीकापुर अस्पतालकी सिनियर नर्स कल्पना खड्काले स्वास्थ्य सबैभन्दा ठुलो भएकाले यस्तो बेलामा स्वास्थ्य सुरक्षामा ध्यान नदिइ भीडभाड गरेर चाडपर्व नमनाउनु नै उचित भएको बताइन्। रासस

प्रतिक्रिया