विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ।
वल्र्डओमिटरले शुक्रबार बिहानसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २ हजार ३९८ पुगेको हो। पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ८० जनाले ज्यान गुमाएका छन्।
यस अवधिमा नेपालमा मात्रै २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
हालसम्म अमेरिकामा सबैभन्दा बढी २ लाख २२ हजार, ब्राजिलमा १ लाख ५२ हजार, भारतमा १ लाख १२ हजार १४४, मेक्सिकोमा ८५ हजार दुई सय ८५, बेलायतमा ४३ हजार भन्दा धेरै, इटालीमा ३६ हजार भन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा सैभन्दा धेरै अमेरिकामा ८ सय ४९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै भारतमा ८ सय ३३, ब्राजिलमा ७ सय ३४, रुसमा २ सय ८६ जनाको संक्रमणबाट मृत्यु भएको वल्र्डओमिटरमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा विश्वभर झण्डै ४ लाख नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा ६४ हजार, भारतमा ६० हजार ३६५, ब्रजिलमा २९ हजार, रसियामा १३ हजार ७ सय, स्पेनमा १३ हजार तथा अर्जेन्टिनामा १७ हजार संक्रमित थपिएका छन्।
योसँगै विश्वभर कुल संक्रमितको संख्या ३ करोड ९१ लाख नाघेको छ। अहिलेसम्म २ करोड ९३ लाख बढी संक्रमणमुक्त भइसकेका छन्।
पछिल्लो समय भारतमा संक्रमितको संख्या उल्लेख्य मात्रामा घट्न थालेको छ। केही दिन अघिसम्म त्यहाँ दैनिक करिब लाखको हाराहारीमा संक्रमित थपिने गरेको थिए।
हाल आएर त्यहाँ दैनिक संक्रमित हुनेको संख्या ६० हजार हाराहारीमा झरेको छ।

प्रतिक्रिया