सर्पले टोकेपछि गम्भीर बिरामी परेका कास्कीको मादी गाउँपालिका-६ तप्राङका १३ वर्षीय बालक विशाल पौडेलको उपचारका लागि २६ लाख २५ हजार दुई सय तीन रुपैयाँ संकलन भएको छ।
बालकका अभिभावको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि असोज पहिलो सातादेखि लागि स्वदेश तथा विदेशबाटसहयोग जुटाउने अभियान शुरु भएको हो। अहिलेसम्म २६ लाख २५ हजार रुपैयाँ जम्मा भएको विशाल पौडेल बचाउ अभियानले जनाएको छ।
गत साउन २८ गते राति घरमै सुतेका बेला करेत सर्पले डसेपछि पौडेल गम्भीर बिरामी भएका छन्। उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचारकक्षमा ४२ दिन उपचार गरेपछि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनको शिक्षण अस्पतालमै उपचार भइरहेको छ।
बालकको उपचारमा आर्थिक अभाव भएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम बढेको हो।
स्थानीयवासीले उपचारमा रकम जुटाउन ‘विशाल पौडेल बचाउ अभियान’ गठन गरी आर्थिक सङ्कलन सुरु गरेका हुन्। अभियानले मङ्गलबारदेखि रकम सङ्कलन अभियान समाप्त भएको जनाएको छ।
समितिका संयोजक योगबहादुर क्षेत्रीले रकम अभावमा परिवारले बिरामीलाई घर फिर्ता ल्याउनुपर्ने बाध्यता सिर्जना भएपछि सबै मिलेर उपचारका लागि रकम सङ्कलन सुरु गरिएको बताए। समितिले हालसम्म बालकका अभिभावकलाई सात लाख ५४ हजार रुपैयाँ भन्दा धेरै१७० बिरामीका आफन्तलाई प्रदान गरिएको र समितिको खातामा जम्मा भएको रकम पौडेलको उपचारमा खर्च गरिने छ ।
बिरामीका दाजु विजय पौडेलले पोखरा तथा काठमाडौँसम्म उपचारमा अहिलेसम्म१२ लाख रुपैयाँ खर्च भएको जानकारी दिए। बिरामीले हातखुट्टा चलाउनेलगायत गतिविधि शुरु गरेकाले स्वास्थ्यमा सुधार हुँदै गएको उनको भनाई छ।
‘सबैको साथ र सहयोगबाट अहिले भाइको राम्रो उपचार भइरहेको छ। अझै कति दिन अस्पताल बस्नुपर्छ, खर्र्च कति लाग्छ भन्ने यकिन छैन,’ उनले भने।
मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले रकम अभावमा बिरामीको उपचारमा समस्या भएको अवस्थामा युवाले स्तःस्फूर्तरूपमा अभियान सञ्चालन गरी रकम जुटाउने पुण्य काम गरेको बताए। गाउँपालिकाले आगामी दिनमा यस्ता भइपरि आउने घटनामा राहत सहयोग उपलब्ध गराउन कार्यविधि बनाउने उनको भनाई छ। रासस

प्रतिक्रिया