समाज


हातमा ९ घण्टासम्म बाँच्न सक्छ कोरोना, तर यसरी निष्क्रिय पार्न सकिन्छ क्षणभरमै : नयाँ अध्ययन

हातमा ९ घण्टासम्म बाँच्न सक्छ कोरोना, तर यसरी निष्क्रिय पार्न सकिन्छ क्षणभरमै : नयाँ अध्ययन

नेपालखबर
असोज २२, २०७७ बिहिबार १:४३,

जापानमा गरिएको एक अध्ययनले कोरोना भाइरस मानिसको छालामा फ्लु भाइरसभन्दा निकै लामो समयसम्म बाँचिरहन सक्ने तथ्य पत्ता लगाएको छ।

अनुसन्धानकर्ताका अनुसार कोरोना (सार्स–कोभ–२) मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्ने पाइएको हो।

वैज्ञानिकका अनुसार फ्लु गराउने इन्फ्लुएन्जा भाइरस भने छालामा २ घण्टा जति मात्रै जीविति रहन सक्छ।

तर यी दुवै भाइरस साबुनपानीले धुँदा वा सेनिटाइजर लगाउँदा निष्क्रिय हुन्छन्। यो अध्ययनले कोरोनाबाट बच्न साबुनपानीले मिचीमिची हात धुनु तथा सेनिटाइजर लगाउनुको महत्वलाई पुनः पुष्टि गरेको छ।

क्लिनिकल इन्फेक्सियस डिजिजेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार अरू भाइरसका तुलनामा कोरोना सम्पर्कका माध्यमबाट छिटो सर्न सक्ने देखिएको लाइभसाइन्समा उल्लेख छ। 

यसअघि अमेरिकामा गरिएको अध्ययनले कोरोना तामामा ४ घण्टा, कागजको बोर्डमा २४ घण्टा तथा प्लास्टिक र स्टेनलेस स्टिलमा ७२ घण्टासम्म बाँच्न सक्ने देखाएको थियो।

जापानका क्योटो प्रिफेक्चुरल युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताले मानिसको शवबाट लिइएका छालाको नमुनाबाट छालाको मोडल तयार गरेका थिए। छाला मृत्युको एक दिनपछि संकलन गरिएको थियो।

अनुसन्धानकर्ताका अनुसार मानिस मरेको २४ घण्टापछि पनि छाला प्रत्यारोपणका लागि प्रयोग गर्न सकिन्छ। यसको अर्थ के हो भने मानिस मरेको केही समय पछिसम्म पनि छाला जीवितै हुन्छ। यस हिसाबले त्यसरी संकलन गरिएको नमुना छाला सही नमुना हुने अनुसन्धानकर्ताको दाबी छ।

८० प्रतिशत इथानोल भएको सेनिटाइजर प्रयोग गर्दा उल्लिखित दुवै भाइरस १५ सेकेन्डमै निष्क्रिय भएको पनि पाइएको अनुसन्धानकर्ताले बताएका छन्।

यही आधारमा उनीहरूले भनेका छन्, ‘सही ढंगले हात सफा राख्ने हो भने कोरोना चाँडै निष्क्रिय हुन्छ र संक्रमण हुने जोखिम पनि घट्छ।’

छालामा रहेको कति मात्राको कोरोनाले मानिसलाई संक्रमित बनाउन सक्छ भन्ने बारेमा भने थप अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ताले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad