समाज


बाढी र पहिरोबाट देशभर कुन–कुन सडकमा छ अबरोध?

बाढी र पहिरोबाट देशभर कुन–कुन सडकमा छ अबरोध?

सञ्चिता घिमिरे
साउन ९, २०७६ बिहिबार ११:५३,

वर्षाका कारण बाढी र पहिरो जाँदा देशभरका धेरै ठाउँमा सडक अवरुद्ध भएका छन्। डिभिजन सडक कार्यालयले सडकमा रहेको अवरोध हटाइरहँदा कतिपय सडक दुई सातादेखि अवरुद्ध छन्।

निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ। सो सडक अहिले बगुवाबाट प्युटारसम्म अवरुद्ध रहेको महानगरीय प्रहरीवृत्त चापागाउँले जनाएको छ। बिहीबारसम्म चापागाउँबाट टीकाभैरव उता सवारी साधन चल्न नसकेको महानगरीय प्रहरीवृत्त चापागाउँका प्रमुख (प्रहरी नायब उपरीक्षक) रामकृष्ण सापकोटाले बताए। बिहीबार बिहान धेरै ठाउँमा गएको पहिरो हटाइएको उनले बताए।

पहिलेको वर्षाका कारण अवरुद्ध सडक गत साता धेरै ठाउँमा खुलाइएको थियो। यो साताको वर्षाले सडक थप अवरुद्ध भएको उनले बताए। वर्षा पूरै नरोकिँदासम्म पहिरो पूरै खुलाउन गाह्रो रहेको उनले बताए। उनले भने, ‘कतै खुलाउँदै गर्दा अर्कातिर पहिरो गएर सडक अवरुद्ध भइरहेको छ।’

ललितपुरको गोदावरीदेखि फूलचोकीसम्मको सडक माथिबाट आएको पहिरोका कारण गत असार २८ देखि अवरुद्ध छ। हाल सडक केही ठाउँमा सञ्चालन र केही ठाउँमा बन्द रहेको सडक विभागले जनाएको छ।

सातदोबाटो–धापाखेल सडक गत ३० असारमा भासिएको थियो। दुई लेनको सडक अहिले एक लेन सञ्चालनमा छ भने एउटा लेन अवरुद्ध छ।
छम्पी–टीकाभैरव सडक माथिबाट आएको पहिराकै कारण झण्डै दुई सातादेखि अवरुद्ध रहेको थियो भने हाल सो सडक केही ठाउँमा सञ्चालन र केही ठाउँमा अवरुद्ध छ।

लहानको ५४ किमी लम्बाइको मिरचैया कटारी घुर्मी सडक दुई साता पहिले नै पहिरोले बगाएको थियो। हाल सो सडक अवरुद्ध रहेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए। सो सडकको नयाँ ट्र्याक खोल्ने तयारी भइरहेको छ । यातायात सञ्चालन हुन अझै पाँच दिन लाग्ने विभागले जनाएको छ। उनले भने, ‘अहिले अवरुद्ध सडकमध्ये सबैभन्दा बढी समस्या यही सडकमा रहेको छ।’

त्यस्तै रुकुमको भेरी करिडोरको पिपे भन्ने ठाउँमा पहिरो जाँदा त्यहाँको सडक अवरुद्ध रहेको छ। पानी रोकिएमा दुइदेखि तीन घण्टामा सडक खोलिने विभागले जनाएको छ। सुर्खेत जिल्लाको तल्लो ढुङ्गेश्वर सिपाकोट चेनेजमा आठ किमी सडक पहिरोकै कारण हाल सो सडक अवरुद्ध छ। सडकको ५० मिटर क्षेत्रमा मात्रै वारपार गर्न सक्ने अवस्था छ। पूर्णरुपले सडक खुल्न दुई दिन लाग्ने सडक विभागले जनाएको छ।

पुष्पलाल राजमार्गअन्तर्गत रुकुमपूर्वको जिल्लाको रुकुमकोटमा गएको पहिरोका कारण त्यहाँको सडक अवरुद्ध छ। त्यस्तै रेलीखोला पुलको डाइभर्सनमा क्षति पुगेको विभागले जनाएको छ। सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले पहिरो आएसँगै खुलाउने काम भइरहेको बताए। संघीय सरकारको अधिकार क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्गमा विभागले सडक खुलाउने काम गरिरहेको छ। निर्माणाधीन राजमार्गमा पहिरोको बढी समस्या रहेको छ। कान्ति लोकपथ निर्माणाधीन रहेकाले धेरै ठाउँमा पहिरो गएकाले तत्काल खुलाउन नसकिएको उनले बताए। त्यस्तै, कटरी घुर्मी खण्डमा सडक खुलाउन समस्या रहेको छ। उनले भने, ‘अन्यत्र भने पहिरो गइरहे पनि खुलाउने काम भइरहेको छ।’

वर्षा शुरु हुनु पहिलेदेखि नै सडक अवरुद्ध हुनासाथ खुलाउन तयारी अवस्थामा रहेको विभागले जनाएको छ। विभागले वर्षा शुरु हुनु पहिले नै जोखियुक्त स्थान पहिचान गरेर तयारी थालेको प्रवक्ता सापकोटाले बताए। ठाउँठाउँमा प्रहरी चौकी, बस्ती, डिभिजन सडक कार्यालय लगायतका स्थानमा पहिरो खुलाउन आवश्यकमात्रामा सामग्रीको व्यवस्थापन गरिएको उनले जानकारी दिए।
अहिले सोही उपकरणको परिचालन गरेर पहिरो हटाइरहेको छ। उनले भने, ‘त्यस स्थानका लागि राखिएको सामग्री पर्याप्त नहुँदा भने अन्यत्रबाट थप सामग्री लगेर पनि सडक खुलाइरहेको छ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले सरकारले सडक अवरुद्ध हुनासाथ तत्काल खुलाउने गरि व्यवस्था मिलाएको बताए। अधिकांश स्थानमा दुई घण्टाभित्रै सडक खुलाएर सञ्चालन गरिएको उनको भनाइ छ। उनले भने, ‘बाढी र पहिरोका कारण अवरुद्ध सडक कसरी चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने भन्ने मन्त्रालयमा छलफल पनि भइरहेको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad