समाज


जसको हातबाट थुतेर स्कुटर जलाइयो (भिडियो)

जसको हातबाट थुतेर स्कुटर जलाइयो (भिडियो)

नेपालखबर
असोज १७, २०७७ शनिबार ११:४४,

तिलोत्तमा नगरपालिकामा कोरोनाका कारण विद्यालयहरुको पठनपाठन अवरुद्ध हुँदा सिकाइ सहजीकरणसम्बन्धी एक पुस्तक छाप्ने निर्णय गरेको थियो।

सोही पुस्तकको छपाइसम्बन्धी काममा नगरपालिकाकी शिक्षा अधिकृत शारदा भट्टराई लु १ ब २४७० नम्बरको स्कुटरमा बुटवल गएकी थिइन।

उक्त काम सकेर फर्कदा शुक्रबार अकस्मात उनीसँग जुन घटना भयो त्यसले उनलाई मानसिक रुपमा विचलित बनाएको छ।

आफ्नै सुरमा स्कुटर चलाएर फर्किरहेकी उनलाई बुटवलको होराईजन चोकमा एक्कासी युवाहरुको एक हुलले रोक्याे।

केही सोच्न नपाउँदै उनको स्कुटर खोसियो र भीडबाट आवाज आयो जलाई दे.. जलाई दे...। 

सरकारी नम्बर प्लेट भएकै कारण उनको हातबाट स्कुटर खोसेर युवाहरुले थुतेका थिए। उनीहरु त्यतिमै रोकिएनन। सेतो टी सर्ट र मुखमा मास्क लगाएका एक युवाले नजिकै जलिरहेको टायरतर्फ स्कुटी ताने।

भीडमा केहीले स्कुटी आगोमा नहाल्न भनिरहेका थिए। तर ती युवाले कसैको कुरा सुनेनन्।

भट्टराईले के गर्न लागेको? किन थुतेको? भनि प्रश्न गर्न नपाउँदै एक युवाले स्कुटी तानेर आगोमा हाले। स्कुटी दनदनी बल्न थाल्यो।

केही अघिसम्मको सहयात्री बनेको स्कुटी आफ्नै आँखा अघि दनदनी बल्न थालेपछि भट्टराईका हातखुट्टा काँपे।

स्कुटीसँगै त्यसमा रहेको उनको झोला, कार्यालयका कागजात र मोबाइल पनि जल्यो।

आँखाबाट आँसु झार्दै उनले तत्कालै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मालाई घटना विवरण सुनाइन। शर्माले नआत्तिन सम्झाए।

‘प्रदेश राजधानीको नामाकरण असन्तुष्टि जनाउनेहरुले बुटवलमा आन्दोलन गरिरहेका रहेछन। त्यसक्रममा कार्यालयको काम सकेर फर्किनुभएको हाम्रा कर्मचारीबाट पनि स्कुटर थुतेर जलाइएछ,’ प्रशासकीय अधिकृत शर्माले नेपालखबरसँग भने, ‘शारिरिक रुपमा उहाँलाई क्षति पुगेको छैन। तर मानसिक रुपमा उहाँ डराउनुभएको छ। स्कुटीमा भएको उहाँको सरसमान र कार्यालयका कागजात पनि जलेका छन।’

प्रदेशसभामा शुक्रबार दिउँसो प्रदेश ५ को नाम लुम्बिनी र प्रदेश राजधानी दाङको देउखुरीमा रहने प्रस्ताव पेश भएको थियो। उक्त प्रस्ताव पेश भएलगत्तै हाल अस्थायी राजधानी रहेकाे बुटवलमा कांग्रेस लगायत असन्तुष्टहरु आन्दोलनमा उत्रिएका थिए।

सोही आन्दोलनका क्रममा काम सकेर घर फर्किरहेकी भट्टराई निसानामा परेकी हुन। अकल्पनीय घटनाले आफ्ना कर्मचारीलाई मानसिक आघात पुर्याएको भन्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले दुःख व्यक्त गरे।

प्रहरीले उक्त स्कुटरको विवरणसहित अवशेषहरु उठाएर लगेको छ। आज शनिबार भएकाले स्कुटीमा पुगेको क्षतिपुर्तिसम्बन्धी काम अघि नबढेको र आइतबार प्रक्रियामा जाने शर्माले बताए।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हालसम्म पनि उक्त घटनामा संग्लन कसैलाई नियन्त्रणमा लिएको छैन। सार्वजनिक भिडियोमा घटनामा संग्लनहरु स्पष्ट देखिदा समेत प्रहरीले कुनै कारवाही अघि बढाएको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले हालसम्म कसैको कुनै उजुरी पनि नपरेको र घटनामा संग्लनबारे पनि पत्ता नलागेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad