समाज


कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

नेपालखबर
असोज १५, २०७७ बिहिबार ९:१०,

रुपन्देही, बाँके र सुनसरीमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ।

रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका पुरुषको बिहीबार मात्र कोरोना पुष्टि भएको छ। अर्का कोरोना संक्रमित पुरुषको भने कोरोना विशेष अस्पतालमा गए राति मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत रुपन्देही, कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषको बुधबार मृत्यु भएको थियो। मृतकको पीसीआर परीक्षण रिपोर्ट आज पोजेटिभ आएपछि उनको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। उनलाई कोरोना संक्रमणका लक्षणमध्ये श्वासप्रश्वासको समस्या देखिएको थियो। प्रादेशिक अस्पतालमा उपचारका लागि आएका उनको उपचारका क्रममा बुधबार साँझ ६ बजे मृत्यु भएको थियो।

यस्तै बुटवल उपमहानगरपालिका वडा ८ का ८० वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको अस्पतालले जनाएको छ। यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि बुधबार बिहान कोरोना विशेष अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. गौतमले जनाएका छन्।

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान थप दुईको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममै ती कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का ५२ वर्षीय पुरुषको बिहान १ बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बिहान १० बजे उपचारका क्रममा मृत्यु भएको हो। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ। बाहिरबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या भने आठ पुगेको छ।

त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो।

उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो। ज्वरो, खोकी र श्वासप्रश्वाशमा कठिन भएपछि बुधबार प्रतिष्ठानको कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। कुनै दीर्घ रोग नभएका उनलाई निमोनियासमेत भएको थियो। बुधबार राति प्रतिष्ठानमा ल्याइएको १५ मिनेटपछि उनको मृत्यु भएको थियो। उनको आज कोरोनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता सापकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .