ad ad

समाज


भक्तपुरमा सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा

भक्तपुरमा सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा

नेपालखबर
असोज १०, २०७७ शनिबार ७:४५,

भक्तपुर नगरपालिकाले नगरभित्रका कोरोना संक्रमितका लागि शनिबारदेखि सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ।

घरमा बस्न सम्भव नभएका संक्रमितलाई ध्यानमा राखेर शनिबारदेखि भक्तपुर ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो।

नगरपालिकाले सञ्चालनमा ल्याएको ७५ शय्याको आइसोलेसन केन्द्रको माथिल्लो तल्ला महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष र पहिलो तल्लामा जोखिम वर्गका संक्रमित राख्ने व्यवस्थापन मिलाइएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

‘होम आइसोलेसनमा बस्दा पनि परिवारका सदस्यलाई सर्ने जोखिम देखियो। त्यसैले हाम्रा नगरभित्र रहेका संक्रमितलाई छुट्टै सुविधासम्पन्न आइसोलेसन सेन्टर निर्माण गरेका हौं,’ नेपालखबरसँग उनले भने।

No description available.

नगरभित्र शुक्रबारसम्म ४५५ जनालाई सक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये २०२ जना होम आइसोलेसनमा छन् भने ६९ जना अस्पतालमा उपचाररत छन्।

नवनिर्मित आइसोलेसन सेन्टरको भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्ने कक्षको व्यवस्था गरिएको छ। आइसोलेसन केन्द्रलाई आवश्यक जनशक्ति तथा व्यवस्थापन नगरले गर्ने नगरप्रमुख प्रजापतिले बताए।

आइसोलेसन केन्द्रमा ३ जना नर्स नियमित ड्युटीमा हुने र दिनमा दुई पटक डाक्टरले राउन्ड लगाउने उनले बताए। यस्तै केन्द्रमा प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० जना कर्मचारीहरु व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

No description available.

आइसोलेसन केन्द्रमा प्रत्येक संक्रमितका लागि अलग–अलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जको लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नको लागि किताब, पत्रपत्रिकासहितको र्‍याक व्यवस्था गरिएको छ।

केन्द्रमा संक्रमितहरुको लागि छुटै थर्मोमिटर, पल्स अक्सिमिटरको व्यवस्था गरिएको मेयर प्रजापतिले जनाए। त्यसबाहेक दैनिक चार छाक खाना, खाजा खुवाइने व्यवस्था गरिएको छ।

यसअघि नगरले आफ्ना संक्रमितलाई खरिपाटीस्थित विद्युत तालिम केन्द्र र भक्तपुर अस्पताल पठाउँदै आएकोको थियो। तर, त्यहाँ उपत्यकाभरिका संक्रमितहरु आउने भएकाले स्थान अभाव हुने भएपछि आफ्नै छुट्टै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .