समाज


नेपाली पासपोर्टमा स्विट्जरल्यान्डको नक्कली भिषा

नेपाली पासपोर्टमा स्विट्जरल्यान्डको नक्कली भिषा

दीपक खरेल
साउन ८, २०७६ बुधबार १३:१६,

संखुवासभा स्थायी ठेगाना भएका ३२ वर्षे हर्कराज राई स्विटजरल्याण्डको जुरिक जाँदै थिए। उनीसँग नयाँ दिल्लीस्थित स्वीस दूतावासले जारी गरेको १५ दिनको साञ्जेन भिषा थियो।

साञ्जेन भिषाबाट युरोपेली संघ आवद्ध २८ वटा देशमा यात्रा गर्न पाइन्छ।हर्कराजसँग उता बस्ने होटल बुकिङ थियो र घुम्ने गन्तब्यको लामै सूची पनि।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार समयमै पुगेका उनलाई काठमाडौंमा रहेका साथीहरुले बिदाई गरे। उनी ओमान एयरको उडान नम्बर डब्लु वाई ३३६ बाट मस्कट ट्रान्जिट हुँदै स्विटजरल्याण्ड जाने तयारीमा थिए।

हर्कराज राई ओमान एयरको काउन्टरमा ‘चेक इन’ गरेर अध्यागमन कार्यालयसम्म सजिलै पुगे। अध्यागमन अधिकृतले उनको पासपोर्टमा भिषा हेरे। साञ्जेन भिषा नयाँ दिल्लीबाट जारी भएको थियो।

तर उनी त्यहाँबाट अगाडि बढ्न पाएनन्।

‘भिषामा केही गडबड देखिएपछि हामीले हर्कराज राईलाई प्रस्थान अनुमति दिएनौं,’ विमानस्थल कार्यालय प्रमुख बेदप्रसाद खरेलले नेपालखबरसँग भने, ‘उनलाई नियन्त्रणमा लिएर विभागमा बुझाएका हौं।’

ओमन एयर उड्ने समय ८ः३५ मिनेटलाई निर्धारित थियो।

हर्कराजले विमानस्थलमा खटिएका अध्यागमन अधिकृतलाई आफूले दिल्ली गएरै दूतावासबाट भिषा लिएको दाबी गरे। त्यतिबेलासम्म अध्यागमन अधिकृतले उनको भिषा नक्कली हुनसक्ने बलियो आधार भेटिसकेका थिए।

यसरी खुल्यो रहस्य
हर्कराजका साथमा सुन्धारास्थित युनियन इन्टरनेशनल टुर एण्ड ट्राभल्सबाट जारी ओमान एयरको जुरिक आउने–जाने टिकट, नियम अनुसारको विदेशी मुद्रा र अन्य कागजपत्र थिए।

उनको पासपोर्ट नम्बर ११३५०५०९ मा टाँसिएको भिषा स्टिकर ८ जुलाई २०१९ मा जारी भएको थियो। १५ दिन समयावधि भएको भिषा ७ अगस्ट २०१९ मा सकिने थियो।

भिषा जारी भएको १५ दिनपछि उनी यात्राका लागि मंगलबार विमानस्थल पुगेका थिए। उनको भिषा अवधिमै शंका गरेका अध्यागमन अधिकृतले भिषा केलाएर हेरे।

साञ्जेन भिषाको स्टिकर केही नमिल्दो देखियो भने भिषाको पुछारमा हुने कोड नम्बर समेत गलत रहेको मेसिन जाँचबाट खुल्यो।

हर्कराजले १० मार्च २०१९ मा राहदानी विभागबाट पासपोर्ट लिएका थिए। उनी पहिलो पटक विदेश यात्रा गर्दै गरेको उनको पासपोर्टले देखाउँथ्यो। हर्कराज माथि शंका गर्ने अर्को कारण यो पनि बन्यो।

अध्यागमन हिरासतमा हर्कराज
हर्कराजका लागि कोटेश्वरमा बस्ने एक जना नवीन नामका ब्यक्तिले सुन्धारास्थित युनियन इन्टरनेशनल टुर एण्ड ट्राभल्सबाट टिकट लिएका थिए। उनको टिकट सोमबार साँझ जारी भएको ट्राभल्सका कर्मचारी टिका बरालले बताए। एकजना चिनजानका न्यूरोडका व्यापारीको आग्रहमा टिकट बनाएको उनले बताए।

‘मलाई एकजना चिनजानको अंकलले टिकट बनाइदिन भन्नुभयो,’ बरालले नेपालखबरसँग भने, ‘मैले मंगलबार बिहान कोटेश्वरमा पुगेर टिकट दिएको हुँ।’

विमानस्थलले नियन्त्रणमा लिएर मंगलबार साँझ अध्यागमन विभागमा बुझाएका हर्कराज त्यहीँको हिरासतमा छन्। अध्यागमन अधिकारीहरुलाई केही नबताएका उनले दिल्ली गएर भिषा लिएको दाबी गरिरहेका छन्। बेलाबेला भक्कानिएर रुन्छन्।

‘हर्कराजले केही बताएका छैनन्’, विभागका मुद्दा शाखाका अधिकारी बैकुण्ठ रेग्मीले भने, ‘उनी रोइरहेका छन्, मानवतस्करले फसाएजस्तो देखिन्छ।’

युरोपेली देशको नक्कली भिषा अध्यागमनका लागि दुर्लभ विषय हो।

‘नक्कली साञ्जेन भिषाबाट विदेश जाने घटना बिरलै हुन्छ’, अध्यागमन विमागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘अन्तर्राष्ट्रिय गिरोहले भिषा नै नक्कली बनाउन थालेको यो घटनाले खुलासा गरेको छ।’

महानिर्देशक पौडेलले घटनाको प्रारम्भिक अनुसन्धान सकेर आरोपीलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीको विशिष्ठ इकाइमा बुझाउने तयारी भइरहेको बताए।

‘यो गम्भीर र संवेदनशील घटना हो’, पौडेलले थपे, ‘सम्बन्धित निकायले यसमा विस्तृत अनुसन्धान गर्नेछ।’

स्पेनको नक्कली पासपोर्टमा नेपालको सक्कली भिषा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले युरोपकै अर्को मुलुक स्पेनको नक्कली पासपोर्टबाहक एक जना युवालाई सक्कली भिषा प्रदान गरेको खुलेको छ।

२ साउन २०७६ मा काठमाडौं विमानस्थलमा अवतरण भएका सान्चेज सुवारेज पाब्लो नाम गरेका व्यक्तिलाई अध्यागमनले नक्कली पासपोर्टमा नेपालको सक्कली भिषा लगाइदिएको हो। उनी कतारबाट काठमाडौं आएका थिए।

उनको भिषा नम्बर आईबी ०११२२० रहेको छ। ३० अमेरिकी डलर लिएर अध्यागमन कार्यालयले उनलाई भिषा दिएको देखिन्छ।

प्रारम्भिक अनुसन्धान अनुसार उनीसँग २ वटा पासपोर्ट भएको हुनसक्ने अध्यागमन अधिकारी रेग्मी बताउँछन्। बरामद पासपोर्टमा सन् २०१६ र २०१७ मा जर्मनीको भिषा देखिन्छ।

नेपालको सक्कली भिषा पाएका उनी ५ दिन नेपाल बसे। ती युवाले बोकेको पासपोर्ट नम्बर एबी ४७१३७१३ हो।

जर्मनी फर्किन उनी २३ जुलाई २०१९ (७ साउन २०७६, मंगलबार) कतार एयरवेजको फ्लाईट नम्बर क्युआर ६५१ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

spain fake passport

कतार एयरवेज काउन्टरमा गएका उनलाई त्यहाँका कर्मचारीले बोर्डिङ पास दिएनन्। उनलाई लाइनमै उभ्याएर अध्यागमन अधिकारीलाई बोलाए। अध्यागमन अधिकारीले प्रहरीको सहयोगमा ती युवालाई नियन्त्रणमा लिए।

‘उनले केही बताएका छैनन्’ विभागका अधिकारी रेग्मीले भने, ‘हाम्रो शंकामा उनी मध्यपूर्वी एशियाको कुनै देशका नागरिक हुन्।’

उनका अनुसार ती युवाले बोकेको पासपोर्ट नक्कली भएको पुष्टि भएको छ।

विभाग स्रोतका अनुसार नक्कली पासपोर्टका जाँच नगरी भिषा जारीगर्ने अध्यागमन अधिकारीबिरुद्ध समेत अनुसन्धान सुरु भएको छ।

शक्तिशाली देशहरुका नक्कली पासपोर्ट बोकेर नेपाल आउने र यहाँबाट पासपोर्ट जारी भएको देश जाने यो पहिलो घटना होइन। खासगरी द्वन्द्वग्रस्त मध्यपूर्वी देशका नागरिकले हजारौं अमेरिकी डलरमा शक्तिशाली देशका पासपोर्ट खरिद गरेर नेपाल आउँदा पक्राउ परेका घटनामा विभागले कारवाही चलाएको छ।

अदालतले दिएन अनुसन्धान म्याद
विभागले अध्यागमन कानूनअनुसार कारबाही थालेका हर्कराज र नक्कली स्पेनको पासपोर्ट बाहक युवाविरुद्ध काठमाडौं जिल्ला अदालतले अनुसन्धान म्याद दिन मानेन्। विमानस्थल अध्यागमन कार्यालयले मंगलबार साँझ ७ बजे आसपासमा नियन्त्रणमा लिएका दुवै युवालाई बुधबार बिहान अदालतमा हाजिर गराइएको थियो।

‘अदालतले अनुसन्धान म्याद दिएन,’ रेग्मीले नेपालखबरसँग भने ‘हामी थप प्रक्रिया पुरा गरे फेरि अदालत जानेछौं।’

यो पनि: 

विमानस्थल अध्यागमनले फर्कायो कोरिया जान खोज्ने २९ जना, नक्कली साञ्जेन भिसाबाहक पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .