जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई आज समिट एयरबाट जुम्लादेखि काठमाडौं पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मंगल रावलले जानकारी दिए।
‘डा. केसी आफैँ काठमाडौं जान मञ्जुर भएपछि हामीले पठाएका हौँ’, उनले भने, ‘उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रतिष्ठानका डा प्रविणलाई साथमा पठाएका छौँ।’
पन्ध्रौँ सत्याग्रह जुम्ला बसेका डा केसी उन्नाईसौं सत्याग्रह पुनः जुम्लामै गरेका हुन्। डा. केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौं जाने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्। काठमाडौं पुगेपछि भने सत्याग्रह जारी राख्ने उनले बताए। रासस
प्रतिक्रिया