बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दागर्दै थाकिसके। उनले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानवअधिकार संघसंस्थामा पेश गरे पनि अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन। उनी गुनासो गर्छन्। ‘छोरीको न लास पाइयो न सास।’
विसं २०६० मा नेपालगञ्जमा अध्यनरत छोरी दीपाको सुरक्षाकर्मीको टोलीले नियन्त्रण लिएका थिए। त्यसपछि बेपत्ता छोरी घर फर्किने पर्खाइमा बसेका उनलाई बुढ्यौलीले छोइसकेको छ। ‘त्यस घटनापछि देशमा अनेक सरकार फेरिए शैली उस्तै छ’, उनले भने, ‘हाम्रा सन्ततिको रगत बगेर विष बन्यो। पद पाएपछि नेताले सबै भुले।’
बढैयाताल गाउँपालिका–५ जगतिया गाउँको मगन्ती थारुको पीडा पनि उस्तै छ। विसं २०५८ मंसिर २७ गते श्रीमान शिवशरण कोहलपुर आफन्त कहाँ जाँदा बाटोमा पक्राउ गरे। चार महिना विभिन्न हिरासतमा यातना सहँदै कारागार पुगेका उनी चैत २१ गते गुलरियास्थित कारागारबाटै बेपत्ता पारिएको बताइएको छ। त्यसपछि पीडामा बाँचेकी मगन्ती भित्तामा टाँसेको श्रीमानको फोटो हेर्न विवश छन्। उनी भन्छिन्, ‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्, आफ्नो मान्छे बाँचेको छ वा मरेको छ त्यो पनि थाहा पाइएन।’
दशवर्षे द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट आफन्त गुमाएका अवस्था यी प्रतिनिधि घटनाले पुष्टि गर्छ। बर्दियामा बेपत्ता भएका २७८ व्यक्तिका परिवार यस्तै पीडामा बाँच्न विवश छन्। राज्यले बेपत्ता परिवारलाई विभिन्न किसिमको आवश्वासन दिएको बेपत्ता परिवारको गुनासो छ। दोषीलाई कारबाहीको माग गरेको वर्षौं बितिसक्दा पनि राज्यले बेपत्ता परिवारको मागप्रति बेवास्ता गरेको महिला कानून विकास मञ्चका काशीराम चौधरीले बताए। उनी भन्छन्, ‘बेपत्ता परिवारको घाउमा मलम लगाउने काम समेत राज्यले गर्न सकेको छैन।’ रासस

प्रतिक्रिया