काडमाडौंको कमलपोखरीका दुई स्थानका ट्राफिक लाइट आजदेखि सञ्चालनमा आएको छ। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाको सहकार्य र काठमाडौं महानगरपालिका वडा नं १ को सक्रियतामा कमलपोखरी ल्होत्से चोकको र कामनपा वडा नं. ५ को सहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडि) को ट्राफिक लाईट नयाँ जडान गरी सञ्चालनमा ल्याइको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले दिए। उनले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानीय तहसँग समन्वय गरी ट्राफिक लाइट जडान गर्न पहल भईरहेको बताए।
पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ। यस अनुसार कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे चोक, सितापाईला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाईट जडानका काम शुरू भैरहेको र उपत्यकाको अन्य थप ४६ स्थानमा पनि ट्राफिक लाइट जडानको लागि पहल भैरहेको महाशाखाले जनाएको छ।
ट्राफिक लाइट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाइटको पूर्ण पालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ।
प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल, पुल्चोक, हरिहरभवन र अल्का अस्पताल अगाडि लगायत क्षेत्रका ट्राफिक लाईट सञ्चालनमा पनि ल्याइसकेको छ।

प्रतिक्रिया