समाज


रुपन्देहीका एसपी पोखरेल भन्छन्ः अपराध र चोरीतस्करी नियन्त्रणमा कठोर बन्छु

रुपन्देहीका एसपी पोखरेल भन्छन्ः अपराध र चोरीतस्करी नियन्त्रणमा कठोर बन्छु

प्रकाश न्यौपाने
भदौ ३०, २०७७ मंगलबार ११:१५,

रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले सबै किसिमका अपराध र चोरी तस्करी नियन्त्रणका लागि आफूले कठोर भएर काम गर्नेे जनाएका छन्।

१० दिन अघि सरुवा भई रुपन्देही आएका एसपी पोखरेलले मंगलबार सञ्चारकर्मीहरुसँगको छलफलमा भने, ‘रुपन्देही हरेक किसिमले संवेदनशील जिल्ला हो, यहाँको शान्ति सुरक्षा, चोरीतस्करी, अपराधलगायत यावत कुरामा म कठोर भएर काम गर्ने छु, जतिसक्छु नागरिकले चाहेको अपेक्षा पूरा गर्नेतर्फ लाग्छु।’

सीमा क्षेत्रमा प्रहरीसँगको मिलेमतोमा हुने अनियमितता, सीमा अपराध, वन्यजन्तुको चोरी तस्करी, लागूऔषध, मानववेचविखन लगायतका गतिविधि नियन्त्रणमा लाग्ने जनाए। आफूले लामो समयसम्म प्रहरी सेवामा रहँदा लिएको अनुभव जिल्लाको शान्ति, सुरक्षामा प्रयोग गर्ने पोखरेलले बताए।

‘जिल्लाको बस्तुस्थिति बुझिरहेको छु, राति एकदुई बजेसम्म पनि काममै खटिएको छु’, उनले भने, ‘प्रहरीको क्षेत्राधिकारभित्र पर्ने सबै किसिमका काममा गुनासो आउन नदिने प्रयास गर्ने छु।’

भ्रष्टाचार नियन्त्रण, प्रहरीसँग सबैको पहुँच विस्तार, न्यायका लागि सहायत जस्ता क्षेत्रमा आफूले काम गर्ने जनाए।

‘सीमा क्षेत्र भएकाले होला, यहाँ अत्यधिक लागूऔषधको ओसारपसार हुने रहेछ, चोरीतस्करी पनि उसैगरी हुने गरेको पाइयो’, उनले भने, ‘प्रहरी एक्लैले सबै काम गर्न नसक्ने पनि हुनसक्छ, सूचना दिई प्रहरीलाई सहयोग गर्ने काममा संचारकर्मी र स्थानीय नागरिकको पनि अह्म भूमिका रहन्छ।’

एसपी पोखरेलले अनुसन्धानमा रहेका पुराना र नयाँ फाइलहरुको छिटो अनुसन्धान टुंग्याउन, फरार प्रतिवादी पक्राउ गर्न पनि आफू विशेष महत्वकासाथ लागि पर्ने जनाए। उनले अहिले नै यस्तो गर्छु, उस्तो गर्छु भन्नु भन्दा पनि आफ्नो कामबाट सबैले मूल्यांकन गर्ने बताए। संचारकर्मीहरुले खासगरी महामारीका बेला पनि महिनौंदेखि चोरी तस्करी हुने गरेको भन्दै यसलाई तत्काल नियन्त्रण गर्न सुझाव दिए।

यस्तै, लागूऔषध, डाकाचोरी लगायत अपराधिक क्रियाकलाप नियन्त्रण गर्नुपर्ने, सञ्चारकर्मीलाई सहजरुपमा सूचना उपलब्ध गराउनु पर्ने तथा प्रहरीसमक्ष गाउँका सोझासाझा नागरिकको पनि पहुँच पुग्ने गरी काम गर्न सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .