नेपाली शान्तिकर्मी राजेन्द्र सेन्चुरीलाई ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कार प्रदान गरिएको छ।
यही भदौ २७ गते इटालीको रोम सहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा पुरस्कार घोषणा गरिएको हो। ६१ देशका संगठनको सहयोगमा आयोजित पुरस्कार प्रदान समारोहमा लकडाउनको यात्रा प्रतिबन्धका कारण सेन्चुरीले भने आफैं उपस्थित भएर प्रमाणपत्र लिन पाएनन्।
सेन्चुरीले नेपाल र अन्यत्र रहेर शान्ति र सद्भाव कायम गर्न आफ्नो जीवन समर्पित गरेका छन्। उनले दक्षिण एसिया र युरोपका अधिकतर देश पुगेर शान्ति स्थापनाका लागि आफ्ना गहन ज्ञान र अनुभव बाँडेका छन्।
अन्तरधार्मिक सद्भाव, नागरिक प्रतिरोध र अहिंसा, हिंस्रक आतंकवाद नियन्त्रण, मानव अधिकार, द्वन्द्वोत्तर न्यायका साथै दिगो शान्ति स्थापनाका लागि युवा र सीमान्तकृत समुदायको मूल प्रवाहीकरणजस्ता क्षेत्रमा देखएको विशेषज्ञताका आधारमा उनको मूल्यांकन गरिएको थियो।
राजेन्द्र सेन्चुरीले शान्ति र न्यायसम्बन्धी सवालमा स्वतन्त्र योगदानकर्ताका रूपमा नेपालका अग्रणी राष्ट्रिय दैनिकमा दर्जनौं लेख लेखेका छन्। उनी यस वर्षको आरम्भमा अस्ट्रेलियोको इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसबाट आइईपी पिस एम्बासेडरका रूपमा समेत चुनिएका थिए।
कला, संस्कृति, शान्ति र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई दिइने यो शान्ति पुरस्कारका विजेता अमेरिकी विविधता रिपोर्टका प्रमुख सम्पादक डेबोरा लेभिन, इरानी/आर्मेनियाली संगीत साधक लोरिस टेक्नोवरियन, पत्रकार र आरएआई–३ का निर्देशक फ्रान्को डि मारे, पूर्व फुटबल खेलाडी डमियानो तोमसी, अभिनेता/निर्देशक फेब्रिजियो बोर्नी, विकिपेडियाका अध्यक्ष मट्टे रफोनी आदि हुन्।
यो वर्ष यस अन्तर्राष्ट्रिय पुरस्कारको चौथो वर्ष हो। यो पुरस्कारलाई सरकार, विश्वविद्यालय, गैरनाफामूलक संस्था र अभियान, युरोपेली युनियन र युनेस्कोजस्ता अन्तर्राष्ट्रिय संगठनलगायत विश्वका २१ प्रतिष्ठित संस्थाद्वारा समर्थन गरिएको थियो। रासस

प्रतिक्रिया