प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) पीडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन्।
यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
उनले अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु(याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने समेत बताएका छन्।
देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू सहभागी आजको विशेष कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा गरेका छन्।
आक्रमणकापछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने उनले बताएको सल्लाहकार थापाको भनाइ छ। साथै, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने समेत उनले कार्यक्रममा जानकारी दिए।
प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने बताएका छन्। हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आह्वान गरेका छन्। नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेको बताइएको छ।
Shares

प्रतिक्रिया