ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ।
यसअघि तय भएअनुसार नेवार समुदायले तोकेका स्वयंसेवकहरुले सो रथलाई तोकिएको स्थानसम्म तानेका हुन्।
प्रशासनले रथ रहेको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको थियो।
रथ तान्नेबेलामा अल्का अस्पतालदेखि पुल्चोक पूलसम्म सडक पुरै खालि गरिएको थियो।
सो क्षेत्रमा बाक्लोरुपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको थियो।
याे पनि: कडा सुरक्षाकाबीच करिव १५ मिटर तानिँदै रातो मत्स्येन्द्रनाथ
सो क्षेत्रमा हिँडडुलमा समेत कडाइ गरिएको थियो भने चक्रपथबाट शहरभित्र प्रवेश गर्ने सडकमा समेत बिहानैदेखि थप कडाइ गरिएको थियो।
नेवार समुदायका विभिन्न संघसंस्थाले खटाएका स्वयंसेवकले आइतबार ३ बजेबाट रथ तानेका थिए। प्रशासनसँगको सहमति र समन्वयमा रथ तान्ने काम सम्पन्न गरिएको हो।
कोरोना महामारी र संक्रमणकोे जोखिमका कारण यसवर्ष पहिले जसरी नगर परिक्रमा नगराइने भएको हो। पुल्चोकस्थित रथ रहेको स्थानबाट करिव १५ मिटर अगाडि सारिएको थियो।
यसअघि गत बिहीबार स्थानीयले प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रहरीसँग झडप भएको थियो। प्रहरीले रथ तान्न रोक लगाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो।
त्यस क्रममा चार प्रहरी र केही स्थानीय घाइते भएका थिए। प्रहरीमाथि कुटपिट गर्ने स्थानीयलाई पक्राउ गरेर शान्तिविरुद्धको कसुरमा मुद्दा अगाडि बढाइएको छ।
भिडियाे:

प्रतिक्रिया