पछिल्लो २४ घण्टामा प्रदेश ५ मा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। जसमा ३२ महिला र ३१ जना पुरुष छन्। बाँकेमा २४, रुपन्देहीमा २५, बर्दियामा ५, दाङमा ५, कपिलवस्तुमा २, प्यूठानमा १ र नवलपरासी पश्चिममा १ जना नयाँ संक्रमित थपिएका छन्।
थपिएकासँगै प्रदेशमा कुल संक्रमितको संख्या ६ हजार ५६२ पुगेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले जानकारी दिए।
प्रदेशमा १ हजार ४५२ जना उपचाररत छन्। यीमध्ये करिब १५ प्रतिशत संक्रमितमा लक्षण देखा परेको मन्त्रालयले जनाएको छ।
विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट उपचारपछि ५ हजार १६ जना संक्रमित निको भएर घर फर्किएका छन्। यस्तै, प्रदेशमा कोरोनाका कारण ३० जनाले ज्यान गुमाई सकेका छन्।
पछिल्लो २४ घण्टामा १ सय १ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका सूचना अधिकारी डा.पौडेलकाअनुसार लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पताल धागो कारखानामा सामान्य कक्षमा १७ जनाले उपचार गराइरहेका छन् भने १४ जनाको आइसीयू र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
यस्तै, भीम अस्पताल भैरहवामा २३ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा ४० जना सामान्य उपचार कक्षमा उपचाररत छन् । केन्द्रीय आयुर्वेद विद्यापीठ, बेलझुण्डी दाङमा ३२ जना संक्रमितको सामान्य कक्षमा र १ जनाको आइसीयूमा उपचार जारी रहेको मन्त्रालयले बताएको छ। उपचार गराइरहेका संक्रमितमध्ये अन्यको भने विभिन्न आइसोलेसन सेन्टरमा राखेर उपचार जारी छ।

प्रतिक्रिया