ad ad

समाज


काठमाडौं उपत्यकामा अरू एक हप्ता ‘लकडाउन’ थपिने सम्भावना

काठमाडौं उपत्यकामा अरू एक हप्ता ‘लकडाउन’ थपिने सम्भावना

नेपालखबर
भदौ १६, २०७७ मंगलबार २:५५,

कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप गरिएकाे निषेध (अत्यावश्यकबाहेक सबै गतिविधि बन्द) को अवधि अब एक दिन बाँकी छ अर्थात् भोलि बुधबार मध्यराति १२ बजे सकिँदै छ।

तर उपत्यकामा कोरोना संक्रमण घट्दो देखिन्न, बरु दिनप्रतिदिन बढ्दो छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै उपत्यकामा २९८ जना  (काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१) संक्रमित थपिएका छन्।

यही भदाै लागेयता मात्र (हिजो १५ गतेसम्म) उपत्यकामा ३ हजार ७ सय १८ संक्रमित थपिएका छन्।

यस्तो अवस्थामा निषेध अन्त्य गर्ने सम्भावना नरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

‘सहजीकरण गर्ने नाममा अहिल्यै स्वास्थ्यका मापदण्ड बेवास्ता गर्न मिल्ने अवस्था छैन, कडाइ अझै जारी राख्न जरुरी देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘त्यसकारण भदौ १७ बाट पुनः एक हप्ता निषेधको अवधि लम्ब्याउनेबारे हामी (तीन जिल्लाका सीडीओ) अनौपचारिक छलफल गरिरहेका छौं।’

उनका अनुसार अरू एक हप्ता निषेधको आदेश जारी हुन सक्ने सम्भावना छ।  ‘यस विषयमा निर्णय गर्न सम्भवतः भोलि (बुधबार) बैठक बस्नेछौं,’ उनले भनिन्।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि यस विषयमा भोलि संयुक्त बैठक बसेर समीक्षा गर्ने र एउटा निर्णय हुने जानकारी दिए।

‘सबैबाट रिपोर्ट आउँछन्, त्यसको समीक्षा गरिन्छ अनि एउटा निर्णय गरिन्छ,’ उनले नेपालखबरसँग भने, ‘तर अहिल्यै निषेधाज्ञा थपिन्छ थपिँदैन म भन्न सक्दिनँ।’

सरकारले काेराेना नियन्त्रणका लागि चैत ११ गतेदेखि देशव्यापी रूपमा लागू गरेको लकडाउन झन्डै ४ महिनापछि साउन ६ गते अन्त्य गरेको थियो। तर संक्रमणको जोखिम घटेको थिएन।

लकडाउन खुलेसँगै मानिसको आवतजावत बढ्याे र देशभर संक्रमण झन् व्यापक बन्न थाल्यो। मृत्यु हुने क्रमसमेत बढ्याे।

जसले गर्दा देशका विभिन्न जिल्ला प्रशासन औपचारिक रूपमा लकडाउन नभनिए पनि एकपछि अर्काे गरेर धमाधम ‘लकडाउन’ (निषेधाज्ञा) जारी गर्न बाध्य भए। 

यता काठमाडौं उपत्यकामा पनि दिनदिनै संक्रमित थपिने क्रम बढिसकेकाे थियो। तैपनि यहाँ कुनै प्रतिबन्ध लागू गरिएको थिएन।

अन्ततः जाेखिम निकै बढेपपछि उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासनले संयुक्त रूपमा भदौ ३ देखि १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरे।

तर पनि संक्रमण बढ्दाे क्रममै रहेकाले पुन: निषेध एक हप्ता थपेर भदाै १७ सम्म पुर्‍याइएकाे हाे। त्याे अवधि भाेलि बुधबार राति १२ बजे सकिने भएकाले फेरि एक हप्ता लम्ब्याउनेबारे छलफल थालिएकाे हाे। 

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार बन्दाबन्दी (निषेध) को अवधि अरू एक हप्ता थप्ने तयारी छ।

याे पनि : आज निषेधाज्ञाको १२औं दिन : यस्तो छ राजधानीको अवस्था

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .