समाज


स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा, यस्तो छ रुट

स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा, यस्तो छ रुट

नेपालखबर
भदौ १४, २०७७ आइतबार ११:४१,

कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा सुरु गरिएको छ।

कोभिड संक्रमणको जोखिम बढेपछि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै पहिलो पंक्तिमा खटिएर सेवा दिइरहेका स्वास्थ्यकर्मीहरुको सुविधालाई मध्यनजर गर्दै निःशुल्क बससेवा सुरु गरिएको हो। भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी छ।

कोरोना संक्रमण दर बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको संयुक्त बैठकले उपत्यकामा निशेषधाज्ञा जारी गरेसँगै स्वास्थ्यकर्मीलाई अस्पताल जान समस्या परेपछि निःशुल्क बससेवा सुरु गरिएको नेपाल नेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले बताए। सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधा नहोस् भनेर निःशुल्क बससेवा सुरु गरिएको उनले बताए।

नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरेको हो।

सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने नेपाल मेडिकल एशोसियशनका केन्द्रीय सदस्य डा रितेश थापाले जानकारी दिए। स्वास्थ्यकर्मीहरुको सिफ्टअनुसार दुई समयमा गाडी सञ्चालन हुने उनले बताए। अत्यावश्यक सेवाका लागि एउटा गाडी २४ घण्टा नै सञ्चालन गर्ने गरि तयारी गरिएको पनि उनले बताए।

बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ। बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म, अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ।

बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ। सेवा नै धर्म हो भन्ने भावना बोेकेको रोटरी क्लबले समेत स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको समस्या समाधानका लागि सहयोग गरेको रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्सका अध्यक्ष कविता रेग्मीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad